• १३ मंसिर २०८१, बिहिबार

जताततै फैलियो डढेलो : धुवाँधुलोले जनजीवन प्रभावित

blog

शान्ता अधिकारी/चितवन, नवराज श्रेष्ठ/रामेछाप, मुरारी अधिकारी/धादिङ

काठमाडौँ, वैशाख ७ गते । सुक्खा खडेरी बढ्दै जाँदा अहिले मुलुकका विभिन्न भागका वनमा डढेलो लागेको छ। वनमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण आकाश खुल्न सकेको छैन । यसले गर्दा जहाज उडान अवरुद्ध हुन थालेको छ भने जनस्वास्थ्यमा पनि समस्या देखिन थालेको छ।

पछिल्लो एक सातामा मात्र देशभरका तीन हजार ४३५ स्थानमा डढेलो लागेको जनाइएको छ।

डढेलो नेपालको एउटा मुख्य समस्या बन्दै आएको छ। प्रत्येक वर्ष डढेलो र आगलागीका कारण धनजनको क्षति हुने गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ मा मात्र आगलागीका घटनामा परेर एक सय नौ जनाको मृत्यु भएको छ। आगलागी नियन्त्रणको क्रममा ३९४ जना मानिस घाइते भएका छन । दुई अर्ब ५१ करोड २२ लाख ४० हजार १७५ रुपियाँको क्षति भएको अनुमान छ ।

धुवाँधुलोले निसास्सियो चितवन

चितवन र यसको आसपासको वन क्षेत्रमा फैलिएको डढेलोका कारण चितवनको जनजीवन प्रभावित भएको छ। धुवाँ र धुलोका कारण आँखा पोल्ने अवस्थाले हिँडडुल गर्न समेत कठिनाइ हुन थालेको छ । हवाई उडान प्रभावित भएका छन्।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार गत २०७९ फागुन २५ गतेदेखि सुरु भएको आगलागीले एकाएक यतिबेला जिल्लाको सम्पूर्ण क्षेत्र ओगटेको छ । पछिल्लो तथ्याङ्क दोब्बर मात्र होइन तेब्बरभन्दा बढी भइसकेको हुन सक्ने अनुमान लगाउँदै कार्यालयका सूचना अधिकारी खनालले भन्नुभयो, “हामीसँग आधिकारिक तथ्याङ्क आइपुगेको छैन तर हामीले पाएको सूचनाका आधारमा यतिबेला जिल्लाका प्रत्येक सामुदायिक वनमा डढेलो देखिएको छ ।” खडेरी र हावाहुरीका कारण डढेलो तीव्र गतिमा फैलिरहेको उहाँले बताउनुभयो । 

गत फागुन २५ देखि चैत १३ गतेसम्म चितवनका ३९ वटा सामुदायिक वनमा दुई हजार ८९९ हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। यो अवधिमा सरकारद्वारा व्यवस्थित वन क्षेत्रको मात्र एक हजार १५० हेक्टर वन डढेलोले सखाप पारेको छ। 

निकुञ्जको १७ ठाउँमा डढेलो

सामुदायिक वन मात्र होइन ९५२ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको चितवन राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र चितवनमा पर्छ। निकुञ्ज अनि त्यसको बरन्डाभार क्षेत्र अर्थात् मध्यवर्ती सामुदायिक वन पनि यतिबेला डढेलोको चपेटामा छ। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले वैशाख महिना लागेयता निकुञ्जको धेरै क्षेत्रमा आगो लागेको भेटिएको जानकारी दिनुभयो। वैशाख ४ गते अन्तिम पटक गरिएको रेकर्डमा निकुञ्जको १७ स्थानमा आगलागी भएको छ। आगलागीबाट बढी क्षति नहोस् भन्ने उद्देश्यले फायर लाइन क्लियर गरेर फैलावट रोक्ने काम भएको र केही ठाउँमा भने निभाउने काम भइरहेको उहाँले बताउनुभयो। 

रामेछापमा डेढ हजार हेक्टरमा क्षति

सुक्खायाम सुरु भएसँगै सुरु भएको डढेलोका कारण रामेछापका वन क्षेत्रमा ठूलो क्षति भएको छ। वन क्षेत्रमा डढेलोको घटना बढ्दा लोपोन्मुख वन्यजन्यु, महìवपूर्ण जडीबुटीलगायतमा ठूलो क्षति पुगेको छ। 

यो वर्षको हालसम्म जिल्लाको विभिन्न स्थानमा लागेको डढेलोका कारण डेढ हजारभन्दा बढी हेक्टर वनमा क्षति भएको तथ्याङ्क छ। अहिलेसम्म रामेछापका ५१ वटा सामुदायिक र १५ वटा कबुलियति वनको एक हजार ५७५ हेक्टरमा आगलागी भएको डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी देवेन्द्र यादवले बताउनुभयो। 

“जिल्लामा रहेका सामुदायिक तथा कबुलियति वन क्षेत्रमा यो वर्ष डढेलोका घटना व्यापक छ, सामुदायिक र कबुलियति गरी ६६ वटा वनमा डढेलो लागेको छ, डढेलो नियन्त्रणका लागि जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय सरकारलगायतसँग समन्वय गर्न डिभिजन वन कार्यालय लागिपरेको छ,” उहाँले भन्नुभयो। 

वनमा लागेको आगो निभाउने कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक उपभोक्ता महासङ्घ स्थलगत रूपमा परिचालित भएको उहाँको भनाइ छ। 

डिभिजन वन कार्यालय रामेछाप वन क्षेत्रमा भइरहेको आगलागीका घटना न्यूनीकरणमा बेखबरजस्तै बनेको नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेको आरोप छ। “यो वर्ष सुक्खायाम सुरु भएसँगै रामेछापका सामुदायिक, निजी र कबुलियती वनमा आगलागी बढ्दो छ, सदरमुकाम मन्थली आसपासकै वनजङ्गलमा तीन/चार दिनदेखि लगातार डढेलो लागिरहँदा पनि डिभिजन वन कार्यालय, जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय सरकार मूकदर्शक बनेका छन्,” उहाँले भन्नुभयो। 

धादिङका चार सय स्थानमा डढेलो 

पछिल्लो एक सातामा धादिङका अधिकांश वनजङ्गलमा डढेलो लागेको छ। डढेलो लागेर आएको धुवाँ जिल्लाभर फैलिएको छ। ७१५ सामुदायिक वन रहेको धादिङ जिल्लामा पछिल्लो एक सातामा झन्डै चार सय स्थानमा डढेलो लागेको जनाइएको छ। 

डढेलोका कारण वनमा रहेका बोटबिरुवा मात्र डढेको छैन वनमा आश्रित वन्यजन्तु र चराचुरुङ्गीसमेत सङ्कटमा परेका छन्। कतिपय वन डढेर खरानी हुँदा वन्यजन्तु जोखिममा छन्। 

वनमा आगो लाग्न नदिन सामुदायिक वनका उपभोक्ताले विभिन्न उपाय अपनाए पनि आगो लाग्दा निभाउने उपकरण नहुँदा निराश भएर टुलुटुलु हेर्न बाध्य हुनुपरेको घट्टेपाखा सामुदायिक वन, धादिङका उपभोक्ता हरिबहादुर घिमिरेले बताउनुभयो। 

निकै दुःख गरेर जोगाएको वन सीमित व्यक्तिको स्वार्थमा सखाप हुँदा आँखाबाट आँसु खस्ने गरेको घिमिरेलेबताउनुभयो। गत शुक्रबार रातिदेखि घट्टेपाखा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिँदै घिमिरेले भन्नुभयो, “रातको समयमा एक्कासि डढेलो लाग्छ, न निभाउने सामग्री हुन्छ, न अन्य तरिकाले निभाउन सकिन्छ, न त डढेलो लागेको हेरेर नै बस्न सकिन्छ।” 

जनचेतनाको कमी र लापरबाही

जनचेतना अभाव र लापरबाहीका कारण झन्डै ६४ प्रतिशत आगलागी मानिसले घाँसको आशामा, चोरी सिकार र जङ्गली जनावर धपाउने अभिप्रायले जानीजानी लगाउने गरेको पाइएको वन संरक्षण अभियन्ता भूमिरमण नेपालले बताउनुभयो। सरकारले वन संरक्षणका लागि खासै ध्यान नदिएको नेपालको भनाइ छ । वन संरक्षण र डढेलो रोकथामका लागि सरकारी कार्यक्रम प्रभावकारी नभएको नेपालले बताउनुभयो।

डढेलो नियन्त्रणका लागि उपभोक्ता समितिलाई आवश्यक सामग्री दिन पर्याप्त बजेट नभएको डिभिजन वन कार्यालय धादिङका अधिकृत अजयविक्रम मानन्धरले बताउनुभयो।