राधाकृष्ण डुम्रे
वालिङ, वैशाख ६ गते । बढ्दो तापक्रम र प्रतिकुल मौसमका कारण स्याङ्जामा पछिल्लो समय डढेलोका घट्नाहरु बढ्न थालेका छन् । सुख्खा समय शुरु भएसँगैे डढेलोका घट्नाहरु बढेका हुन् । डिभिजन वन कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार अहिलेसम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षति पुर्याएको जनाइएको छ । डढेलोका कारण भएको क्षतिको अनुमान सार्वजनिक गर्न कठिनाई भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिबंश न्यौपानेले बताउनुभयो ।
जिल्लाका ११ पालिकाका ४२ ठाउँमा डढेलो लागेको उहाँले जानकारी दिनुभयो । डढेलोबाट वनजंगलसहित अन्य बस्तीहरु जोगाउन डिभिजनले सचेतना अभियान चलाउँदैआएको न्यौपानेको भनाई छ ।
दरबन्दीअनुसारको बन रक्षक नभएका कारण डढेलो नियन्त्रणमा कठिनाई हुनेगरेको जिल्ला वन कार्यालयको भनाइ छ । डढेलो नियन्त्रणमा हामीलाई सुरक्षा निकायबाट सहयोग हुँदैआएको सुचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । ‘सीमित साधनस्रोत र जनशक्तिको अभाव भएको उहाँको भनाइ छ । जिल्लामा वन रक्षकको ३३ दरबन्दी भए पनि ११ जना मात्रै कार्यरत रहेको जिल्ला वन कार्यालयको भनाइ छ ।
जंगलमा लागेको डढेलोले के कति वन्यजन्तुमा क्षति गरेको छ भन्ने बिषयमा डिभिजन वन कार्यालय स्याङ्जा अन्योलमा रहेको छ । रानीबन जंगलमा लागेको आगोका कारण आँधीखोला गाउँपालिका –१ अर्घौदीमा २ घर ४ गोठ जलेर नष्ट भएका छन् । मानवीय र पशुचौपायाको क्षति हुनबाट जोगिएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा अन्य बस्ती बचाउन सफल भएको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
दिनहुँजसो स्याङ्जामा आगालागीका घट्नाहरु भइरहेका छन् । अझै पनि आगालागीका घट्नाहरु हुनसक्ने भन्दै सबै जिल्लाबासी सचेत रहन जिल्ला वन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
यसैबीच स्याङ्जाको वालिङ नगरपालिका –५ पाँडेथोक र वडा –६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट ३७ परिवार प्रभावित बनेका छन् ।
छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजना अन्तर्गतको करिब एक किलोमिटर पाइपमा लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताउनुभयो । मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएपछि अहिले वैकल्पिक रुपमा पानी ल्याउने काम भइरहेको उहाँको भनाइ छ ।