• १३ मंसिर २०८१, बिहिबार

१० वटा वडा समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन

blog

१० वटा वडालाई समेटेर काठमाडौं महानगरपालिकाले गर्‍यो वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन । तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौं, वैशाख ५ गते । विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले आज वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ वाट जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि बोलाएर निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालमा १० वटा वडामध्ये वडा नं. १६ बाट दुई जना र बाँकी वडाबाट एक/एक जना सहभागी गराइएको सहायक निर्देशक सानुमैयाँ महर्जनले जानकारी दिनुभयो ।

सञ्जाल उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली हुनुहुन्छ । यस्तै, सदस्यहरुमा गोविन्द श्रेष्ठ, स्वीट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा हुनुहुन्छ । समितिमा वडा नं. १८ बाट सदस्य थप गर्न बाँकी छ । सञ्जालसँगै सागर प्रजापती, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।  

स्टेट अफ ग्वोबल एअरले सन् २०२० गरेको अध्ययन अनुसार मृत्युको विश्वव्यापी अवस्थामा श्वासप्रश्वास असरका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत, इस्केमिक हृदय रोगबाट २० प्रतिशत मानिसको मरण हुने गरेको छ । यस्ता असरको मूख्य कारण वायु प्रदूषण हो । यसैकारण २० प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ । यस्तै औसत आयु घट्दै गएको छ । वायु प्रदूषणका लागि ठूला–ठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोग मात्र जिम्मेवार छैनन् । व्यक्तिले घरभित्र र बाहिर गर्ने दैनिक व्यवहारका कारण पनि प्रदूषण बढ्नुमा सहयोग गरेको छ ।

स्वच्छ र स्वस्थ बातावरणमा बाँच्न पाउने हकलाई नेपालमा कानुनी रुपमै सुरक्षित गरिएको छ । कानुनमा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति वापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक राखिएको छ । वन, वातावरण, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, यातायात प्रणाली, जनस्वास्थ्य जस्ता विषयमा प्रदूषणसँग अन्तरसम्बन्धित छन् । प्रदूषण तथा वातावरणीय जोखिम नियन्त्रण, हानीकारक वस्तुको नियमन प्रदूषण नियन्त्रणका लागि अबलम्बन गरिनु पर्ने प्रमुख काम हुन् ।

नागरिक समाजले के गर्न सक्छन् ?

महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जनका अनुसार समुदायस्तरमा जथाभावी फोहोर तथा प्लाष्टिक बाल्न रोक लगाउन काममा नागरिक समाजले सहजीकरण गर्न सक्छन् । विशेष सरसफाई अभियान सञ्चालन गर्न सक्छन् । घरभित्रको प्रदूषण कम गर्न कामलाई घर–घरमा गएर सचेतना फैलाउन सक्छन् । वायु गुणस्तरको सवालमा नियमित छलफल गरेर नीति, मापदण्ड तथा अनुगमन गर्ने विषयमा सुझाव दिन सक्छन् । संरचना निर्माणमा सहकार्य गर्न सक्दछ । बहस, छलफल, अन्तरक्रियाबाट चलाउन सक्छन् । सामाजिक जवाफदेहिताका काम गर्न सक्छन् ।

साझेदार संघ संस्थाहरुले अहिले काठमाडौं महानगरसहित ललितपुर महानगरपालिका, चन्द्रागिरी, चाँगुनारायण र शंखरापुर नगरपालिकामा स्वच्छ हावाका लागि कार्यक्रम थालिएको छ । यस कार्यक्रमअन्तर्गत वायु प्रदूषणको अवस्थाका विषयमा प्रमाण जुटाउने, प्रमाणका आधारमा नीति निर्माणमा सहयोग गर्ने, नागरिक समाजको क्षमता विकास गरेर प्रदूषण नियन्त्रणका लागि जिम्मेवार बनाउने कार्यक्रम सञ्चालन हुन्छ । सरकार र नागरिक समाजसँगै निजी क्षेत्रलाई प्रदूषण नियन्त्रणका लागि लगानी बढाउन प्रोत्साहन गर्नु यसको मुख्य काम हो ।