• ११ असोज २०८१, शुक्रबार

कानुन प्रभावकारी बनाइनुपर्ने

blog

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख ५ गते । कर्णाली प्रदेशप्रमुख तिलक परियारले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत दलित महिलाको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ।

प्रदेशप्रमुख परियारले कानुन कार्यान्वयन नहुँदा विभेद, अपमान बढेको चर्चा गर्दै कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दलित महिला सङ्घद्वारा सुर्खेतमा सोमबार आयोजित न्याय, समानता र सम्मानका लागि दलित महिलाको प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले समुदायमा दलित र त्यसमा पनि दलित महिला बढी प्रताडित हुने गरेको चर्चा गर्दै उनीहरूलाई राष्ट्रिय मूलप्रवाहमा ल्याउन ढिला गर्न नहुने बताउनुभयो। 

उहाँले भन्नुभयो, “दलित समुदाय आर्थिक, राजनीतिक, सांस्कृतिक अधिकारबाट वञ्चित हुँदै आएका छन्। त्यसको अन्त्यका लागि विद्यमान कानुनको कार्यान्वयन कडाइसाथ गरिनुपर्छ।”

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास तथा ऊर्जा राज्यमन्त्री उर्मिला विश्वकर्माले अधिकार प्राप्तिका लागि दलित एकता अपरिहार्य भएको बताउनुभयो। विगतमा दलित सशक्तीकरण विधेयक दर्ता भए पनि निष्क्रिय भएकाले अब पुनः दर्ता गर्ने प्रतिबद्धता उहाँको थियो। राज्यमन्त्री विश्वकर्माले दलित महिलाले न्याय पाउन नसकेको, आर्थिक अधिकार पनि प्राप्त गर्न नसकेकाले उनीहरूलाई मूलप्रवाहमा ल्याउने गरी नीति निर्माण गर्न आफ्नो पहल रहने विश्वास व्यक्त गर्नुभयो। 

दलित महिला सङ्घका संस्थापक अध्यक्ष दुर्गा सोबले सङ्घीयताअघि पनि अपमानित भएका दलित महिलाको अवस्थामा सङ्घीयतापछि पनि कुनै सुधार आउन नसकेको दाबी गर्नुभयो। छुवाछूत, विभेद, अपमान कायमै भएकाले सङ्घीयताले पनि दलित महिलालाई कुनै अधिकार दिन नसकेको टिप्पणी उहाँको थियो। उहाँले छुवाछूत गर्नेलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने, राज्यबाट प्राप्त सेवासुविधा रोक्का गर्नुपर्ने नीति बनाउन आग्रह गर्नुभयो। अहिलेको विद्यमान कानुन कार्यान्वयन नहुँदा दलित र दलित महिलामाथिको हिंसा नरोकिएको उहाँको भनाइ छ। 

कर्णाली प्रदेश सभा सदस्यहरू जानकी सिंह, गमता विक, कल्याणी खड्काले न्याय, समानता र सम्मानका लागि अझै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। दलित महिला सङ्घका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेशप्रमुख लोकनाथ बास्तोला, गैसस महासङ्घका केन्द्रीय सदस्य घनश्याम केसी, पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेल, नेकपा (एमाले)का उपसचिव बलबहादुर नेपाली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष मोहनसिंह बडुवाल, नेपाल दलित सङ्घका अध्यक्ष भीमबहादुर परियारलगायतले दलित मुक्तिका विषयमा चर्चा गर्नुभएको थियो।

कर्णालीका १० जिल्लाका दलित अधिकारकर्मी, कार्यपालिका सदस्य, दलित महिला वडा सदस्यलगायत गरी करिब दुई सय जना सहभागी सम्मेलन मङ्गलबार सम्पन्न हुने दलित महिला सङ्घ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार दुईदिने सम्मेलनमा स्थानीय तहमा बनेका कानुन, कर्णालीमा दलित महिलाले भोगेका समस्या, आगामी दिनमा गर्नुपर्ने कामलगायत विषयमा छलफल हुनेछ।