• ८ वैशाख २०८१, शनिबार

स्ववियु निर्वाचन

सहमति नहुँदा बाँकी क्याम्पसमा निर्वाचन हुन सकेन

blog

काठमाडौं, वैशाख ४ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सकिँदैछ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा थप एक महिनाको समयसीमा भित्र पनि निर्वाचन हुन नसकेपछि समय समापन हुन लागेको हो । 

बाँकी रहेका क्याम्पसमध्ये आइतबार अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढेर हिजो आइतबार निर्वाचन सम्पन्न भएको छ । तर, रत्न राज्यलक्ष्मी क्याम्पस, पृथ्वीनारायण क्याम्पसलगायतका क्याम्पसमा तोकिएको मितिमा प्रक्रिया अगाडि बढ्न सकेन । 

करिब १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयको ६२ वटा आङ्गिक क्याम्पसमध्ये ५० र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये ३५० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । यसअघि २०६३ को जनआन्दोलन यता स्ववियुको निर्वाचन नियमित हुन सकेन । 

आङ्गिक ६२ मध्ये १२ वटामा बाँकी छ, अरु धेरैमा निर्वाचन भयो । ३५० सम्बन्धन प्राप्त भएको क्याम्पसमा निर्वाचन भएको छ ।

त्यस यता प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचनको क्रम भङ्ग भएर २०६५ मा स्ववियु निर्वाचन सम्पन्न भयो । २०७३ मा भएको स्ववियु निर्वाचनमा नौ आङ्गिक र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले विगतको वर्षभन्दा यो पटक धेरै क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको बताउनुभयो । 

हालसम्म कति वटा क्याम्पसमा स्ववियु निर्वाचन भयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “आङ्गिक ६२ मध्ये १२ वटामा बाँकी छ, अरु धेरैमा निर्वाचन भयो । ३५० सम्बन्धन प्राप्त भएको क्याम्पसमा निर्वाचन भएको छ । पहिलेभन्दा धेरैमा स्ववियु निर्वाचन भयो, नतिजाहरु पनि आइरहेको छ । नतिजा आउन पनि समय लाग्छ ।”

पूर्व निर्धारित कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुनुपर्ने भए पनि सो दिन निर्वाचन हुन नसकेका बाँकी क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन समितिले चैत ६ गते निर्देशन दिएको थियो । त्रिवि उपकुलपतिको कार्यालयले चैत ५ गते नै साँझ विद्यार्थी युनियनको हितलाई केन्द्रमा राखी स्थगन भएका निर्वाचन प्रक्रिया सम्पन्न गर्न क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्व, राजनीतिक दल, स्थानीय प्रशासन, अभिभावक सबैमा विज्ञप्तिमार्फत अपिल जारी गरेको थियो । 

विद्यार्थी संगठन मिलेनन  

प्राध्यापक अधिकारीले अब यो पटकको स्ववियु निर्वाचन यत्तिमै सीमित हुनसक्ने बताउनुभयो । “एक महिनासम्मको कार्यक्रम रहँदा पनि विद्यार्थी संगठनले मिलेर निर्वाचन गर्न सकेनन् । विश्वविद्यालयले राम्रो अवसर दिएको हो । सुरुदेखि नै चैत ५ गते हुन नसकेकोलाई ३० दिनभित्र गर्नुपर्छ भनेको थियो । दिएको समयसीमा सकिँदैछ” उहाँले भन्नुभयो । 

परीक्षा तालिका सबै प्रारम्भ भइसके । त्यसैले, ३० दिनभित्र निर्वाचन नगर्नेहरुको अब स्ववियु निर्वाचन गर्न सकिँदैन । निर्वाचन वर्षभरी गर्ने पनि होइन ।

विश्वविद्यालय, क्याम्पसको परीक्षा, नतिजा इत्यादिका कारण स्ववियु निर्वाचनको समयावधि थप हुन नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो परीक्षा आदी, इत्यादि करणले सबै डामाडोल हुनेभयो, परीक्षा तालिका सबै प्रारम्भ भइसके । त्यसैले, ३० दिनभित्र निर्वाचन नगर्नेहरूको अब स्ववियु निर्वाचन गर्न सकिँदैन । निर्वाचन वर्षभरि गर्ने पनि होइन । विश्वविद्यालयले आफ्नो अन्य कार्यक्रम, परीक्षा, भर्ना, नतिजा, नयाँ शैक्षिकसत्र सुरुभयो त्यतातिर लाग्नुपर्ने भयो” उहाँले भन्नुभयो ।  

सहमति भाँडियो 

देशका मुख्य राजनीतिक दल निकटका विद्यार्थी संगठनबीच चैत २३ गते स्ववियु निर्वाचन हुन नसकेको बाँकी क्याम्पसमा चैत ३० गते निर्वाचन सम्पन्न गर्न तत्काल नयाँ कार्यतालिका प्रकाशित गर्ने र निर्वाचनको सुनिश्चितता गर्ने सहमति भएको थियो । 

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको हस्ताक्षरसहितको संयुक्त विज्ञप्ति जारी गरेर बाँकी रहेका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गर्ने, निर्वाचन विथोलिनेखालका गतिविधि नगर्ने र निर्वाचन भाँड्नेखालका कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडेर चुनावी प्रक्रिया अगाडि बढाउने संयुक्त प्रतिबद्धता थियो ।  

अनेरास्ववियुका अध्यक्ष समिक बडालले सहमति हुन नपाउँदै चुनाव रोक्ने गतिविधि भएको बताउनुभयो । बडालले भन्नुभयो, “उहाँहरूले चुनाव नै चाहनु भएन । पाटनमा तालाबन्दी गरेर सबै उम्मेदवार, अन्तिम नामावली निकालेपछि निर्वाचन नियमावली सबै मिचेर सहमति हुन नपाउँदै चुनाव रोक्नुभयो । २३ गते हामीले सहमति गरेका थियौँ, २४ गते चुनाव रोक्नुभयो ।”

त्रिविले एक महिनाभित्र स्ववियु निर्वाचन गराउन जारी गरेको परिपत्रका सम्बन्धनमा उहाँले त्यो समय सीमाभित्र निर्वाचन गर्न गाह्रो भएको बताउनुभयो । “अब एक महिनाभित्र निर्वाचन गर्न परिपत्र गरिएको छ । तालिका नै ननिस्केको ठाउँमा निर्वाचन गर्न गाह्रै छ । सर्वोच्च अदालतले गत चैत २ गते बाँकी क्याम्पसमा निर्वाचन गर्न आदेश दिएको थियो । तर सर्वोच्च अदालतको आदेश पनि कार्यान्वयन भएन । आरआर क्याम्पसमा निर्वाचनको मतदान हुन मात्रै बाँकी रहँदा पनि गर्न दिएको छैन, त्यहाँ प्रशासनकै असहयोग भएको छ” उहाँले भन्नुभयो । यस विषयमा विश्वविद्यालय कसरी अगाडि बढ्छ त्यसलाई महत्त्वका साथ हेरिएको उहाँको भनाइ छ । 

समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचन बिथोलिएको अवस्थामा फेरि सहमति नै अर्को विकल्प भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्ववियु निर्वाचन बिथोलिएको अवस्थामा फेरि पनि सहमति नै गर्नुपर्ने देखिन्छ । नयाँ प्रक्रियाबाट निर्वाचन गर्ने कुरामा चार वटा विद्यार्थी सङ्गठनमा एक किसिमको सहमति भएको थियो ।”

त्यसपछि, अमृत साइनस क्याम्पस, मीन भवन, बानेश्वर, त्रिचन्द्रको कुरा विद्यार्थी नेताबीचमा नमिलेको उहाँको भनाइ छ । “त्यस विवादबाट आरआर, मीनभवन, बानेश्वर, त्रिचन्द्रको कुरा नमिलेपछि सहमति भाँडियो । अब त्रिविले क्याम्पसलाई जिम्मा दिएको छ” पराजुलीले भन्नुभयो ।

नेतृत्वमै समस्या 

प्राध्यापक अधिकारीले लामो समयपछि यस पटकको स्ववियु निर्वाचन गराउने क्रममा सात, आठ हजार स्वयम् सेवक एवम् नेतृत्व विकास गर्ने अवसर पाएको बताउनुभयाे । नेतृत्व आफैंमा समस्या हुँदा बाँकी क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको भन्नुहुँदै उहाँले तर जति विश्वविद्यालय र क्याम्पसमा निर्वाचन सम्पन्न भयो, यसलाई उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभयाे। 

सहमति गर्ने अनि ताला लाउने । माथिकाले नियन्त्रण गर्न नसक्ने, माथिको कुरा तलकोले पालना नगर्ने । नेतृत्व आफैँमा समस्या भयो ।

उहाँले भन्नुभयो, “सहमति गर्ने अनि ताला लाउने । माथिकाले नियन्त्रण गर्न नसक्ने, माथिको कुरा तलकोले पालना नगर्ने । नेतृत्व आफैँमा समस्या भयो ।” समग्र विश्वविद्यालयको हित, विद्यार्थी हकहितको आवाज उजागर एवम् समग्र क्याम्पसमा रचनात्मक काम अगाडि बढाउन स्ववियु निर्वाचनबाट आएका नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । उहाँले अहिले शैक्षिक संस्थालाई कसरी हातेमालो गर्दै अगाडि लान सकिन्छ भन्ने अवसर रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब हामी शैक्षिक गतिविधिमा रचनात्मक गतिविधिमा लाग्नुपर्छ । अब फेरि निर्वाचन गर्ने अवस्था छैन । बरु, सहकार्य चाहिँ जारी रहनेछ ।” उहाँले स्ववियु निर्वाचनका क्रममा सहयोग गर्ने, सबै क्याम्पस प्रशासन एवम् सम्बन्धित सबै पक्षलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।