• ८ वैशाख २०८१, शनिबार

तीनतिर खोलाले घेरेको गाउँ सधैँ सुख्खा

blog

सिंचाइ सुविधा पुग्न नसकेको दाङको गढवा गाउँपालिकाका चन्दनपुरको सुख्खा खेत । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, बैशाख ३ गते । गाउँको तीन तर्फ खोला छन् । खोलामा पानी पनि प्रशस्त छ त त्यही खोला बीचमा रहेको गाउँ सुख्खा छ । दाङको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ । खोला र नदीमा बगेको पानी हेरेर चित्त बुझाउनु बाहेक अरू विकल्प छैन । गाउँ सिँचाइ नहुँदा सुख्खा छ । 

गढवा गाउँपालिका –७ चन्दनपुर निवासी जानकी चौधरीलाई खेतीपातीको समय नजिक आउँदा सिँचाइ असुविधाकै कारण चिन्ता सुरु हुन्छ । गाउँमा सिँचाइको सुविधा छैन । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएपछि जानकीलाई वर्षामा पनि खेती गर्न समस्या पर्छ । जानकी भन्नुहुन्छ, ‘खेतीको समय आउँदा गाउँमा खुसी होइन, दुःखले घेर्छ, आकाशे पानीको भर पर्दा कहिले आधा खेती हुन्छ । कहिले खेती नै गर्न सकिँदैन ।’ 

चन्दनपुर गाउँमा सतह सिँचाइको समस्या छ । यहाँको सिँचाइ समस्या समाधान गर्न भूमिगत पानीको लागि बोरिङ्ग धसिएको भए पनि विद्युत नियमित नहुँदा र भोल्टेच कम हुँदा सिँचाइ राम्रोसँग हुन सक्दैन, स्थानीयहरू नियमित विद्युत नहुँदा बोरिङबाट पनि हुक्क छन् । स्थानीय सरोज चौधरीले बोरिङ्ग भए पनि पानी नै नतान्ने समस्या रहेको बताउनुभयो । उक्त गाउँमा एक सय ६५ वटा बोरिङ्ग भए पनि सिँचाइ सुविधा प्रभावकारी हुन सकेको छैन ।

राप्ती नदीको पानी सिँचाइ गर्ने उद्देश्यले दश वर्ष अघिबाट वड्कापथ सिँचाइ आयोजना लागु भएको छ । यो आयोजनाको पानी चन्दनपुर गाउँसम्म ल्याउन समुदायस्तरबाट पहल भए पनि अहिले आयोजनाको स्टिमेटमा चन्दनपुरसम्म पानी ल्याउने योजना छैन । गाउँलेहरूले सतह सिँचाइको पहल गरिरहेका छन् । स्थानीय अगुवा उमाकान्त डाँगीले २०२४ साल सम्म चन्दनपुर गाउँमा कुलोबाट  सिँचाइ गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पुरानो सिँचाइको संरचना नासियो अहिलेसम्म सुख्खा नै छ, जमिनमुनिको पानीले सिँचाइ गर्न लगानी बढी लाग्ने भयो । त्यसमा पनि गाह्रो छ । हामीलाई चाहिएको अब वड्कापथको पानी हो ।’ चन्दनपुर गाउँको एक हजार दुई सय बिगाहा जमिन आकाशेपानी र भूमिगत पानीको भरमा छ ।

वड्कापथ कुलो सिँचाइ आयोजनाको निर्माण काम पनि सुस्त छ । ३० किलोमिटर क्षेत्रसम्म मूल नहर पुर्‍याउने योजना भए पनि अहिले सात किलोमिटर वरपर मात्रै पुगेको छ ।