• १६ चैत २०८०, शुक्रबार

एसीसी प्रिमियर कप : लिग–२ कै खेलाडीको निरन्तरता

blog

फाइल तस्बिर ।

काठमाडौं, वैशाख ३ गते । मंगलबारदेखि काठमाडौंमा सुरु हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार प्रशिक्षणमा रहेका २१ खेलाडीबाट अन्तिम १४ खेलाडीको नाम सार्वजनिक गरेको हो । नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले टोलीमा यसअघि आइसिसी विश्वकप लिग–२ मा रहेका खेलाडीलाई निरन्तरता दिनुभएको छ । नेपाली टोलीको कप्तानमा पनि रोहित पौडेल हुनुहुन्छ । 

टोलीमा कप्तान रोहितसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी हुनुहुन्छ । अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।

नेपालले अघिल्लो महिना घरेलु मैदानमा भएको लिग–२ को सिरिजमा ‘क्लीन स्वीप’ गर्दै विश्वकप छनोट खेलमा स्थान बनाएको थियो । लिग–२ का पछिल्ला १२ खेलमा नेपालले ११ खेल जितेको थियो ।

क्यानले खेलाडी छनोटको आधार एसीसी प्रिमियर कपको तयारीका लागि शनिबार ओमानसँग खेलेको मैत्रीपूर्ण अभ्यास खेलको प्रदर्शनलाई लिएको पनि जनाएको छ । 

मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ओमानसहित कतार, मलेसिया र साउदी अरब छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । 

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ ।

उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल  वैशाख १६  र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ ।