• १२ पुस २०८१, शुक्रबार

नेपालमा जात र धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति

blog

इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, वैशाख २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताउनुभएको छ । इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरूलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपालमा आर्य, मङ्गोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउनुहुँदै यी सबैलाई मिलाउन सकेमा नेपाली–नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालीहरू विश्वका कुना कुनामा पुगेको बताउनुहुँदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको प्रशंसा गर्नुभयो । नेपालको संस्कृति विश्व सामु चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो ।


फाउण्डेशनले आफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ । गायनतर्फ १२० जना र नृत्यतर्फ १२० जना कलाकार सहभागी रहेको फाउण्डेशनले जनाएको छ ।