हरिप्रसाद कोइराला
उर्लाबारी, बैशाख २ गते । देशभर कृत्रिम पोखरी र ताल बनाएर पर्यटक आकर्षित गरिएको बेला मोरङको सुनवर्षी नगरपालिका –१ केचनाको कमलपोखरी सुकेको छ । अहिले सुकेको ऐतिहासिक पोखरीमा पशुचौपाया चरिरहेका छन् ।
वैकल्पिक पानीको स्रोत जुटाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको बेवास्ताले यसअघि काम पाएका डुङ्गाहरू थन्किन पुगेका छन् । सडक र बाटोघाटोले सुगम स्थलमा रहेको प्राकृतिक कमलपोखरी क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि स्थानीय सरकारको चासो र सरोकार नहुँदा गुमनाम झैं बनेको छ ।
पोखरी पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि १३ किमी दक्षिण र रङ्गेली–विराटनगर सडक खण्डको रङ्गेली बजारबाट करिब १३ किमी उत्तरमा छ ।
‘पोखरीमा अत्यन्तै दुर्लभ प्रजातिका विभिन्न रंगका कमलको फूल फूल्ने गर्छन् । पानी भएको बेला पोखरीमा रातो, निलो र सेतो रंगका फूलहरु पाइन्छन्’ –स्थानीय ज्ञानबहादुर बस्नेतले भन्नुभयो । उहाँका अनुसार पोखरीमा विभिन्न प्रजातिका माछा, कछुवा, जलकुखुरा, हाँस र अन्य जलचर प्राणीहरु देख्न सकिन्थ्यो । साँझपख टाढा टाढाबाट चराहरू समेत पोखरी किनारको रुखमा बास बस्न आउने गरेका थिए ।
करिब ९ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीको बीचमा शिवालय मन्दिर छ । छेउ–छाउमा किरातहरूको साकेला थान र किराँतेश्वर मन्दिर, हिन्दूहरूको हनुमान, राम मन्दिरलगायतका देवालयहरु छन् ।
सुनवर्षी नगरपालिकाका प्रमुख श्यामकुमार राजवंशीले कमलपोखरी स्थानीय मंगलसिंह माध्यमिक विद्यालयले संरक्षण गर्ने जिम्मा लिएको बताउनुभयो । नगरले पोखरी संरक्षणका लागि डिपीआर समेत तयार गरिसकेको बताउँदै नगर प्रमुख राजवंशीले विद्यालयसँग समन्वय गरेर पोखरीको संरक्षण कार्य अघि बढाइने उल्लेख गर्नुभयो ।