लिलाराज खड्का
विर्तामोड, असार २३ गते । झापाको बुद्धशान्ति गाउँपालिकामा खेत रोप्न पैनीबाट मोटर जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा रोपाइँ गर्नका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बुद्धशान्ति ३ का ३९ वर्षीय रोषन जिमीको मृत्यु भएको हो ।
आइतबार साँझ करिब ७ बजे जिमीले खेतमा रोपाइँ गर्नका लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते उहाँलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा चिकित्सकले साँझ ७ः१५ बजे मृत घोषणा गरेका थिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।