• १४ असोज २०८१, सोमबार

तनहुँमा तीन वटा मतदान स्थल अति संवेदनशील

blog

जिल्ला प्रशासन कार्यालय तनहुँको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १ गते । वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा  मतदानस्थल ‘अति संवेदनशील’ छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ । 

समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ६९ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले तीन अति संवेदनशील, २४  वटा संवेदनशील ४२ वटा सामान्य रहेको जानकारी दिनुभयो । विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो । 

निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ । ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने प्रजिअ रिजालले जानकारी दिनुभयो । 

संवेदनशील स्थलमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो । स्वच्छ, शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउनेगरी सुरक्षाको उचित प्रबन्ध मिलाएका छौं’ प्रअिज रिजालले भन्नुभयो । 

मतदान स्थललाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयलाई आधार मानेर वर्गीकरण गरिएको समितिले जनाएको छ । मतदान स्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी र मोबाइल टोलीमा नेपाली सेना र शसस्त्र प्रहरी परिचालन गरिएको अर्यालले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रमुख अवदेश विष्टले दुई जनपथ प्रहरी परिचालन गरिने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले ६९ मतदान स्थलका १५२ मतदान केन्द्रका लागि एक जना मतदान अधिकृत त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत र दुईजना सहायक कर्मचारी गरी उपनिर्वाचनमा ७६० जना कर्मचारी परिचालन गरिने भएको छ । तनहुँ –१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।