• ८ जेठ २०८१, मङ्गलबार

म्याग्दीको तिप्ल्याङमा बस दुर्घटना, चार घाइते

blog

दुर्घटनाग्रस्त यात्रुबाहक बस । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, बैशाख १ गते । बेनी–जोमसोम कोरला सडक अन्तर्गत तिप्ल्याङ नजिक बस दुर्घटनाका घाइतेलाई बेनी अस्पतालमा ल्याइएको छ । काठमाडौंबाट मुस्ताङको जोमसोमतर्फ जाँदैगरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस अन्नपूर्ण गाउँपालिका –१ मा पर्ने तिप्ल्याङ नजिक आज शुक्रबार विहान करिब १० बजेतिर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बसमा २१ जना यात्रु सवार थिए । 

दुर्घटनाको खबर पाएसँगै तिप्ल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीयवासीहरुले घाइतेहरुको उद्धार गरेर बेनी अस्पतालमा लगेका थिए । बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरण लामाले बताउनुभयो । उहाँका अनुसार घाइतेहरु खतरामुक्त छन् ।  

दुर्घटनामा घाइते भएकाहरु चार जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ । काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो मुस्ताङ हुँदै थोरङ्लापास गरी बेंसीसहर निक्लन हिँडेका मजदुरहरु सवार बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । 

दुर्घटनामा परी ओखलढुङ्गा जिल्लाको मलङ गाउँपालिका –७ की मिङ्मा शेर्पा, खिजिदेम्बा गाउँपालिका –१ की छम्जी शेर्पा सिन्धुपाल्चोकको पाँचपखीथान गाउँपालिका –६ का मिङमार तामाङ र लिसिम्वोपहर गापा –१ का पूर्ण लामा घाइते भएका हुन् । घाइतेहरुको टाउको, खुट्टा, हात र ढाडमा चोट लागेको बेनी अस्पतालले जनाएको छ । 

बस सडकदेखि पाँच मिटर तल खसेको प्रहरीले जनाएको छ । कालोपत्रेका लागि सडक छेउमा थुपारेर राखेको गिटी, बालुवालगायतका सामग्रीका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।