केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, वैशाख १ गते । काभ्रेपलाञ्चोकको बनेपास्थित सगरमाथा ग्यास उद्योग प्रालि.मा रहेका ग्यास सिलिण्डर काट्न सुरु गरिएको छ । बजारबाट फिर्ता भएका धेरै पुराना र ‘हाइड्रोस्टाटिक टेष्ट’ मा असफल भएका ‘सगर ग्यास’ ब्राण्डका सिलिण्डर उद्योगले काट्न सुरु गरेको हो ।
ग्यास ओसारपसार तथा भण्डारणका क्रममा पुराना भएका र म्याद समाप्त हुन लागेका सिलिण्डरलाई ग्यास भर्नमा पुनः प्रयोग नहोस् भनेर पुराना सिलिण्डर काट्न सुरु गरिएको उद्योगले जनाएको छ । उद्योगले काटेका पुराना सिलिण्डरलाई कुच्याएर स्थानीय प्रशासनको रोहवरमा कवाडीमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
उद्योगले यो वर्ष ६७९ वटा पुराना ग्यास सिलिण्डर काटेको र अन्य पुराना हुँदैगएका सिलिण्डर पनि बिस्तारै कटान गरिने उद्योगका प्लान्ट मेनेजर रोशन नापितले जानकारी दिनुभयो । उहाँले नेपाल आयल निगमको एलपी ग्यास विनियमावलीअनुसार उपभोक्तालाई नोक्सानी नपुग्ने सुरक्षित सिलिण्डरमा मात्रै ग्यास उत्पादन गर्न उद्योगले पुराना सिलिण्डर काट्दै आएको बताउनुभयो ।
जिल्लामा प्रभावकारी अनुगमन नुहँदा घर–घरमा जोखिमपूर्ण र असुरक्षित एलपी ग्यास सिलिण्डर भित्रिएको आरोप लाग्दैआएको छ । सगरमाथा ग्यास उद्योगका प्लान्ट मेनेजर नापितले उद्योगले हरेक वर्ष स्वतःस्फूर्त रुपमा तालिकाअनुसार सिलिण्डरको चेकजाँचपश्चात् पुराना सिलिण्डर विस्थापन गर्दैआएको बताउनुभयो ।
उद्योगका प्रबन्ध निर्देशक सबरमल अग्रवालले उद्योगले आफ्नो क्षमता विस्तार गर्दै ग्यास भण्डारण गर्ने व्यवस्था मिलाइ ग्यास बजारमा बिक्रीमा पठाउनुअघि सुरक्षाको प्राविधिक जाँच गर्नुपर्ने कानुनी व्यवस्थाको पालना गर्दैआएको बताउनुभयो । बनेपा नगरपालिकाभित्र एलपी ग्यासका पाँच वटा बोटलिङ उद्योग छन् । जिल्लामा सगरमाथा (सगर), गौरीशङ्कर (हिमाल), सूर्य, चण्डी र उग्रचण्डी (लोकप्रिय) ग्यास उद्योग छन् ।