• १२ साउन २०८१, शनिबार

२०८० सालको वार्षिक राशिफल

blog

मेष

यो वर्षको प्रारम्भमा राशिमा प्रवेश गरेको बृहस्पतिका कारण यात्रा एवं स्थान परिवर्तन गराउनेछ। अध्ययन अध्यापनमा आइपरेका बाधाअड्चन क्रमशः हटेर जानेछन्। घरायसी व्यावहारिक झमेलाहरू पनि क्रमशः सहज बन्दैजानेछन्।  आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्नेछ। नयाँ काम मिल्ने या नोकरीमा पदोन्नति भएर जाने सम्भावना छ ।  घरपरिवार तथा सन्तानको सुख राम्रो मिल्नेछ । रोकिएका काम वर्षको उत्तरार्धमा क्रमशः बन्दैजानेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ भने गरेको कामबाट मानसम्मानसमेत मिल्ने देखिन्छ । व्यापारिक वर्गका लागि वर्ष फलदायी रहेको छ । शारीरिक आरोग्यता अनुकूल रहनेछ । बिहीबारको दिनमा भगवान् शिवलाई दूध, जल र बेलपत्र चढाउँदा बृहस्पतिको दोष निवारण भई शुभफल प्राप्त होला ।

शुभ महिनाहरू : असार, असोज, माघ र फागुन।


वृष

 दसौँ शनिका कारण नयाँ काम मिल्नुका साथै खर्चको मात्रा बढाउनेछ। आँटेका काममा सामान्य बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउनेछ। अध्ययन अध्यापनमा केही बाधाअड्चन 

आइपर्नेछन्। शारीरिक आरोग्यता सामान्य रहनेछ। नसोचेका घरायसी समस्या देखा पर्नेछन्। इष्टमित्र एवं आफन्तजनको मन बुझाउन नसक्नाले आलोचनाको पात्रसमेत बन्नुपर्नेछ। यात्रामा सामान्य समस्या आइपर्ने देखिएकाले सतर्कता अपनाउनुपर्नेछ। दाम्पत्य सम्बन्धमा सामान्य वैचारिक मतभेद आइपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला । रमाइलो ठाउँको भ्रमणका साथै धार्मिक यात्राको समेत सम्भावना छ । 

शुभ महिनाहरू : साउन, कात्तिक, फागुन र चैत।


मिथुन 

 यस वर्ष तपाईंका  ग्रहगोचर अनुकूल छन्। एकादश बृहस्पतिका कारण पठनपाठनमा सफलता मिल्नेछ। बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ । मनले आँटेका काममा सफलता मिल्दै जानेछ।  काममा आएका विघ्नबाधासमेत क्रमशः हटेर जानेछन्। पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ। उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ भने विवादमा विजयी गराउनेछ । आर्थिक पक्षका कामबाट राम्रै सफलता प्राप्त होला । नयाँ लगानी एवं नवीन कारोबार गर्न समेत वर्ष अनुकूल छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत बढेर जाला । युवाका लागि मनोरञ्जनका अवसर मिल्नेछन् । 

शुभ महिनाहरू : भदौ, मङ्सिर, चैत र वैशाख।


कर्कट

 नयाँ वर्ष तपाईंका लागि अनुकूल रहनेछ। दसौँ बृहस्पतिका कारण अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन आइपर्नेछन्।  शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहनेछ। सामाजिक एवं धार्मिक कार्यमा  अभिरुचि लाग्नेछ। नोकरीमा मान प्रतिष्ठा समेत प्राप्त गराउला । व्यापारी वर्गका लागि आम्दानीका नयाँ बाटा देखा पर्नेछन् भने कृषक वर्गका लागि समेत वर्ष फलदायी छ । पारिवारिक सुखसम्बन्ध अनुकूल रहनेछ । युवाका लागि मनोरञ्जनका अवसर मिल्नेछन् । रमाइलो भ्रमण एवंं वैदेशिक यात्राको समेत सम्भावना छ ।

शुभ महिनाहरू : असोज, पुस, वैशाख र जेठ।


सिंह 

 वर्षको प्रारम्भबाट नै बृहस्पतिको अनुकूलताले गर्दा शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जानेछ। धार्मिक कार्यका साथै माङ्गलिक कार्यहरूको आयोजना हुनेछ। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ।  पारिवरिक सुखसन्तोष अनुकूल रहनेछ। धार्मिक उद्देश्यको यात्रामा सहभागी हुनुपर्नेछ । आर्थिक पक्षका काममा राम्रो सफलता मिल्नेछ । नोकरीमा पदोन्नति एवं मान प्रतिष्ठासमेत प्राप्त होला । घरायसी पैतृक सम्पत्तिमा सामान्य वादविवाद आइपर्ने देखिन्छ । कृषि एवं पशुपालनमा हानिनोक्सानी बेहोर्नुपर्नेछ । वर्षको पूर्वार्धमा स्थान परिवर्तन एवं यात्राको योग छ । 

शुभ महिनाहरू : कात्तिक, माघ, जेठ र असार।


कन्या 

 वर्षको प्रारम्भमा नै बृहस्पतिको प्रतिकूलताले गर्दा अस्वस्थताको कारण बन्नेछ। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा बाधाअड्चन आइपर्नेछन्। घरायसी एवं पारिवारिक झमेलाले पिरोल्नेछ। आर्थिक कारोबारका काममा मध्यम सफलता मिल्नेछ। परिवारको औषधोपचारमा सञ्चित धनराशिको खर्च समेत गराउनेछ। वर्षको प्रारम्भमा सामान्य विवाद एवं काममा व्यवधान आइपरे पनि वर्षको मध्यभागतिरबाट  सफलता मिल्ने देखिन्छ । कृषि एवं पशुपालनमा फाइदा पुग्नेछ । कर्मचारी वर्गका लागि मध्यम वर्ष  रहेको छ । उद्योग व्यवसायमा सोचेअनुसारको सफलता मिल्ने छैन । बिहीबारको दिनमा रुद्राभिषेक गराउँदा बृहस्पतिको अशुभ दोष निवारण भएर जानेछ ।

शुभ महिनाहरू : मङ्सिर, फागुन, असार र साउन।


तुला 

 वर्षको प्रारम्भबाट नै बृहस्पतिको अनुकूलताले गर्दा मानसिक प्रसन्नता बढेर जानेछ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ। सन्तान एवं परिवारमा हर्ष आनन्दको वातावरण बन्नेछ। यात्रा एवं भ्रमणका अवसर मिल्नेछन्।  घरायसी खर्चको मात्रा भने केही बढेर जाने देखिन्छ । घरपरिवार, इष्टमित्र एवं कुटुम्बको सुखसम्बन्धका साथै शारीरिक आरोग्यतासमेत अनुकूल रहनेछ। वर्षको उत्तरार्धमा देशविदेशको यात्रा मनोरञ्जन एवं सुख आनन्दका अवसर मिल्नेछन्। अध्ययन अध्यापनका साथै नोकरीमा समेत महìवपूर्ण सफलता प्राप्त हुनेछ। धार्मिक एवं सामाजिक कार्यमा समेत सहभागिताको योग छ।

शुभ महिनाहरू : पुस, चैत, साउन र भदौ।


वृश्चिक

 वृश्चिक राशिका लागि यो वर्षभरि नै अढैया शनिदशा रहनाले काममा अनावश्यक बाधाअड्चन आइपर्नुका साथै मानसिक अस्थिरतासमेत उत्पन्न गराउने देखिन्छ। घरपरिवार एवं आफन्तजनसँगको सम्बन्ध त्यति राम्रो नहोला। दाम्पत्य सम्बन्धमा समेत मनमुटावको स्थिति देखा पर्नसक्नेछ । आत्मीय व्यक्तिबाट विश्वासघात हुन सक्ने छ। वर्षको पूर्वार्धमा आर्थिक काममा सफलता मिल्नुका साथै विदेश भ्रमणको योग समेत छ। घरमा धार्मिक एवं  माङ्गलिक कार्यको आयोजना हुनेछ। वर्षको उत्तरार्धमा मानप्रतिष्ठा बढ्नुका साथै नयाँ अवसरसमेत मिल्ने योग छ। सामान्य स्वास्थ्यगत समस्या आइपर्ने तथा अनावश्यक रूपमा खर्च वृद्धि समेत गराउनेछ। ठूलो लगानी एवं आर्थिक लेनदेनसम्बन्धी कारोबारमा  सतर्कता अपनाउनुपर्नेछ।  शनिमृत्युञ्जय स्तोत्रको पाठ गर्दा या गराउँदा राम्रो होला । 

शुभ महिनाहरू : माघ, फागुन, वैशाख, भदौ र असोज।


धनु 

 वर्ष फलदायी रहनेछ। रोकिएका काम क्रमशः बन्दै जानेछन्। प्रतिस्पर्धामा सफलताको योग रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत बढेर जाला। मानसम्मान तथा पदप्रतिष्ठका अवसर मिल्नेछन्। यात्रा एवं भ्रमणका अवसरसमेत मिल्नेछन्। वर्षको उत्तरार्धमा स्थान परिवर्तनको सम्भावना छ। उच्च मनोबलका  साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला। धार्मिक तथा सामाजिक कार्यमा अभिरुचि पनि बढेर जानेछ।  अध्ययन अध्यापनमा पनि सफलताको योग छ। सन्तान एवं पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ।

शुभमहिनाहरू : फागुन, जेठ, असोज र कात्तिक।


मकर

 साढेसात शनिदशा ओरालो लागेर गएकाले काममा आइपरेका बाधाअड्चन क्रमशः हट्दै जानेछन्। तपाईंका लागि यो वर्षको पूर्वार्धमा आर्थिक समुन्नति तथा पारिवारिक सुखसन्तोष मिल्ने, चल अचल सम्पत्तिको वृद्धि गराउने योग छ। यात्रा एवं भ्रमणको सम्भावना बलियो  छ। सामाजिक मानप्रतिष्ठा एवं धार्मिक कार्यक्रममा सहभागी गराउनुका साथै मनोरञ्जनका अवसरसमेत मिल्नेछन्। वर्षको उत्तरार्धमा भने स्वास्थ्यमा आकस्मिक उतारचढावको स्थिति उत्पन्न हुने तथा मानसिक अस्थिरता बढेर जानेछ। पारिवारिक एवं सन्तानको चिन्ता केही बढ्ने देखिन्छ। अध्ययन अध्यापनमा पनि सोचेअनुसारको सफलता पाउन मुस्किल नै देखिन्छ। 

शुभमहिनाहरू : चैत, असार, कात्तिक र मङ्सिर।

कुम्भ 

 तपाईंका लागि यो वर्षका ग्रहगोचरहरू त्यति अनुकूल रहेका छैनन्।  वर्षभरि नै साढेसात शनिदशा रहनाले आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्नुका साथै ढिलासुस्ती समेत गराउनेछ। शारीरिक अस्वस्थताका साथै मानसिक अस्थिरता समेत उत्पन्न गराउला। घरायसी खर्चको मात्रा बढेर जानेछ। लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनुपर्नेछ । ठूला लगानी नगर्दा नै राम्रो होला। यात्रा एवं सवारी चलाउँदा विशेष होसियारी अपनाउनुपर्नेछ। वर्षको उत्तरार्धमा मनले सोचेका योजनामा आंशिक सफलता मिल्नेछ। स्थान परिवर्तन एवं यात्राको योग छ।  असार महिनापछि वैदेशिक यात्रा एवं भ्रमणको अवसर आउनेछ। 

शुभमहिनाहरू : वैशाख, साउन, मङ्सिर र पुस।


मीन 

 वर्षारम्भबाटै प्रारम्भ भएको साढेसात शनिदशाका कारण गर्न आँटेका काममा अनावश्यक बाधाअड्चनका साथै ढिलासुस्तीसमेत गराउनेछ।  अध्ययन अध्यापनमा अभिरुचि बढेर जाला। धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ। नयाँ लगानी एवं लेनदेनसम्बन्धी कारोबार गर्नका लागि वर्ष त्यति उत्तम छैन। वर्षको पूर्वार्धमा देशविदेशको भ्रमणको अवसरसमेत मिल्ने योग छ भने उत्तरार्धमा मानसिक चिन्ता बढ्ने, अनावश्यक विवादमा पार्ने तथा घरायसी पारिवारिक झमेला बढ्ने समेत देखिन्छ। दाम्पत्य सम्बन्ध राम्रो रहनेछ। आर्थिक पक्ष मध्यम फलदायी रहेको छ। 

शुभ महिनाहरू : जेठ, भदौ, पुस र माघ।  

युवामञ्च, वैशाख २०८० 

Author

ज्यो. हरिप्रसाद पौडेल