साधन घर्ती
म्याग्दी (दरबाङ), वैशाख १ गते । हिमाली जिल्ला मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन गरिएको छ । गुणस्तर परीक्षण गर्न पस्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गरिएको हो । नेपालमै पहिलो पटक भुवा परीक्षण गर्न नमुना सङ्कलन गरिएको हो ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा सङ्कलन भएको हो । जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङ्ग्राको भुवाको आठ सयवटा नमुना सङ्कलन गरिएको नेपाल पस्मिना उद्योग सङ्घका कार्यक्रम अधिकृत सुमन भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार चारवटै पालिकाका १६० जना किसानले पालेका पाँच/पाँचवटा फरकफरक भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुना भुवा निकालिएको हो । सङ्कलित नमुनालाई पस्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइएको अधिकृत भण्डारीले जानकारी दिनुभयो । तालिम प्राप्त नौ जना प्रशिक्षक कृषकद्वारा १० दिनसम्म च्याङ्ग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा काटेर सङ्कलन गरिएको हो ।
पस्मिनाको गुणस्तरले यसको महत्व तथा बजार मूल्यमा प्रभाव पार्ने अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “मुस्ताङको पस्मिना भुवामा गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङ्ग्राको नश्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।”
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङ्ग्रा पालिएको छ । प्राकृतिक रूपमा बिरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पस्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पस्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।
विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भीम शेरचनले बताउनुभयो । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । नेपाल फाइबर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ । नेपाल पस्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपियाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।