अमरगढी समाचारदाता
डडेल्धुरा, वैशाख १ गते । अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाउनुभएको छ। दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त हुनुहुन्छ।
प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उहाँको घरमै पुगेर नागरिकता दिएको हो। नागरिकता नहुँदा उहाँ सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुहुन्थ्यो। नागरिकता पाएसँगै अब उहाँले सामाजिक भत्तासमेत पाउँदै हुनुहुन्छ। अमरगढी–३, डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी बनेका छन्। छोरा रोजगारीको सिलसिलामा भारतमा छन्।
पतिको मृत्यु दर्ता र छोरा बुहारीको नागरिकता भएको आधारमा उहाँलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो। अनिताको माइती घर भारत हो। उहाँले भारत नागरिकता लिनुभएको थिएन। सानै उमेरमा बिहे गरेर डडेल्धुरा आएको बुझिएको छ। उहाँको नागरिकतामा जन्ममिति १९८९ माघ १२ गते उल्लेख गरिएको छ। जन्मस्थान भारत देश पञ्चावत उल्लेख छ।
नागरिकता नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित शीर्षकको समाचार चैत २१ गते गोरखापत्रमा छापिएपछि जिल्ला प्रशासन कार्यालयले उहाँको खोजी गरेको थियो। चैत २१ गते समाचार प्रकाशित भएपछि उहाँको घरमै पुगेर नागरिकता उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। वडाध्यक्ष तीर्थबहादुर ऐरका अनुसार मालपोत कार्यालयमा समेत पुगेर जग्गा नामसारीका प्रमाणसमेत जुटाइएको थियो। अनिताका बुवाको मृत्युपछि उहाँको छोराका नाममा जग्गा नामसारी गरिँदा आमाको नाम उल्लेख छ।