• ११ पुस २०८१, बिहिबार

सलहेश फूलबारी भरिभराउ

blog

जीवछ यादव

लहान, वैशाख १ गते । सलहेश फूलबारीमा भारत विहारका मधुबनी र दरभङ्गा जिल्लाका भक्तजनहरू सलहेशको दर्शन गर्न दुई दिनअगावै आइपुगेका छन्। नयाँ वर्ष वैशाख १ गते लाग्ने फूलबारी मेलामा लहान नगरपालिका वडा नं. १२ र २२ स्थित सलहेशको मन्दिरअगाडि रहेको हारमको रुखमा फूल्ने सुनाखरी फूल हेर्न भव्य मेला लाग्ने गर्दछ। 

दुई दिनअगावै आइपुगेका भक्तजनहरू सलहेश फूलबारीमा रहेको रुखमुनि सफा गरेर खाना पकाउने र रुखमुनि नै रात काटेर मेला सकिएपछि लहान–१८ स्थित पकडियागढ, लहान–२४ स्थित मानिकदह र सलहेशको जन्मस्थल सिरहा नगरपालिकाको महिसोथा पुगेर तीन दिनपछि गृहस्थानतर्फ फर्किने गर्छन्। 

सीमावर्ती भारतको दरभङ्गा जिल्ला गनौली मविका जयराम पासवान पत्नी राधिका पासवानसहित पहिलो पटक सलहेश फूलबारी आइपुगेको बताउनुभयो। सलहेश फूलबारीमै दुई रात बिताउनुभएका उहाँले निकै आनन्द अनुभव गरेको बताउनुभयो। 

मधुवनी र दरभङ्गा जिल्लाबाट मात्रै ५० हजारको सङ्ख्यामा भक्तजन बर्सेनि आउने गरेको बताउँदै ७० वर्षीय महेन्द्र दासले भन्नुभयो, “पहिलोको तुलनामा व्यवस्थित छ। अझै खाने बस्ने र शौचालयको समुचित प्रबन्ध भइदिए हुन्थ्यो। सलहेशसँग जोडिएको पकडियागढ, मानिकदह र पताइर पोखरीका लागि यातायातको साधनहरू पर्याप्त भए राम्रो हुन्थ्यो।” 

नेपाली सेना सताइस वाहिनी शेर गण चोहर्बाका टोलीले चैत १७ गतेदेखि दुई शौचालय, चार स्थानमा खानेपानीको धारा र फोहोर सङ्कलनका लागि डस्टबिनको व्यवस्थापन गरेको छ तर सो व्यवस्थापन हजारौँ भक्तजनका लागि अपर्याप्त बनेको छ। 

मधेश प्रदेश पर्यटन विकास कार्यालय लहानका अधिकृत सन्तोषकुमार साहका अनुसार नौ बिघा क्षेत्रफल रहेको सलहेश फूलबारीभित्र सिमेन्ट ढुङ्गा प्रयोग गर्ने अनुमति नभएको र फूलबारी क्षेत्रभन्दा बाहेकको निजी जग्गा भएकोले कुनै पनि निर्माण कार्यहरू अघि बढ्न सकेको छैन। सलहेशको महिमाबारे पुस्तक तयार गरी बृहत् गुरुयोजना निर्माण गरेर जनकपुरधामको जानकी मन्दिरपछिको दोस्रो धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न प्रदेश र सङ्घीय सरकारसँग मिलेर विभिन्न काम गरिने लहान नपाका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो।