जनार्जन खत्री
सर्लाही, चैत ३० गते । सर्लाहीका किसानले बालीनालीको सुरक्षाको लागि आफ्नो खेतबारीमा थापेको विद्युतीय धराप (करेन्ट) मा परेर वन्यजन्तु मर्न थालेका छन् ।
अहिले वनमा जताततै डढेलो लागेकाले सुरक्षित वासस्थानको खोजीमा वन्यजन्तु किसानको खेतबारीमा पसिरहेका छन् । किसानको मकै र उखुलगायतका बालीमा पुग्ने वन्यजन्तु विद्युतीय धरापमा परेर मर्ने क्रम बढेको हो ।
जिल्लाको दक्षिणी भेगका किसानले आफ्नो खेतमा वन्यजन्तु प्रवेश गर्न नपाओस् भनी पुरै खेत नै घेरेर विद्युतीय धराप राख्ने गरेका छन् । वन क्षेत्रमा डढेलो लाग्न थालेपछि बँदेल, हरिण, नीलगाई, स्यालजस्ता वन्यजन्तु दक्षिणी भेगतिरै बढी मात्रामा जाने गरेको पाइएको छ ।
आकाशे वर्षाको भरमा खेती हुने उत्तरी चुरेभेगमा हिउँदभर खेतबारी बाँझै रहेर उदाङ्गो हुने भएकाले प्रायः वन्यजन्तु बालीनाली भइरहने दक्षिणी भेगका किसानको खेतबारीमा पुग्ने गरेका छन् । सिँचाइको सुविधा रहेको दक्षिणी भेगमा मकै र उखुलगायत घारी हुनेखालको बालीनाली लगाइन्छ ।
वनमा डढेलो र बढ्दो विनाशका कारण यहाँको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने विष्णु, गोडैता, कौडेना, बलरा, रामनगर, धनकौलसहितका पालिकामा बाक्लै मात्रामा वन्यजन्तु आउन थालेको स्थानीय किसानले बताएका छन् । कौडेना गाउँपालिका–३, का युवक सूर्य यादवले आफ्नो गाउँमा विद्युतीय धरापमा परेर बिहीबार बिहान मात्रै दुई वटा घोडगधा र एउटा स्याल मरेको जानकारी दिनुभयो ।
स्थानीयका अनुसार हिजोआज विद्युतीय धरापमा परेर प्रत्येक दिनजसो वन्यजन्तु मर्ने गरेका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मञ्जुर अहमदले वन्यजन्तुबाट बाली जोगाउने बहानामा यसरी विद्युतीय धराप थाप्नु अवैध हुने बताउनुभयो ।
कारबाही हुने डरले वन्यजन्तु विद्युतीय धरापमा परेर मरे पनि वन कार्यालयसम्म जानकारी नै नआउने गरेको डिभिजन वन प्रमुख अहमदको भनाइ छ । केही दिनअघि छिमेकीले आफ्नो खेतमा थापेको विद्युतीय धरापमा परेर बलरा नगरपालिकामा एक जना स्थानीयको मृत्यु समेत भएको थियो ।