• १५ वैशाख २०८१, शनिबार

बढ्दैगरेको पशु बाँझोपनबारे अनभिज्ञ छन् किसान

blog

राजगढ – ६ मा सञ्चालित पशु शिविरमा सेवा लिन आउने किसानहरुको भीड । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) चैत ३० गते । पशुलाई समयमा उपचार गराउनुपर्छ भनेर जनचेतना नभएर सप्तरीको ग्रामीण भेगमा पशुहरूमा बाँझोपन रोगको सङ्क्रमण बढ्दैगएको छ । विश्व बैङ्कको सहयोगमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले यसै साता गरेको पशु शिविर तथा खोप कार्यक्रमका बेला सो तथ्य फेला देखिएको हो । 

सिरहा र सप्तरीमा गरेको चार वटा शिविरमा सेवा लिन किसानहरूले ल्याइएका प्रजनन उमेरका अधिकांश गाईभैंसी लगायतका पशुहरू कुपोषण तथा बाँझोपनका रोगले ग्रसित रहेको आयोजना क्लष्टर इकाई राजविराजका अधिकृत तथा पशुविज्ञ विनयविक्रम रत्नले बताउनुभयो । पाँच वर्षअघि पनि यो समस्या पशुहरूमा देखिएको विज्ञहरूको भनाइ छ । 

त्यस्तै, सयमा ४५ वटा पशुमा गर्भको आवश्यकता नै  महसुस नगर्ने रोग पाइए पनि अहिले यो सङ्ख्या पाँच गुणाले वृद्धि भएको पशुरोग विशेषज्ञ हेमनारायण यादवले जानकारी दिनुभयो । लामो समयसम्म कुनै न कुनै अन्य रोग लागेको र त्यसको उपचार नगराएपछि पशुहरूमा बाँझोपन ल्याउनेगरेको उहाँले बताउनुभयो । त्यस्तै पोषणको कमीले बाँझोपन अत्यधिक हुने पशुविज्ञ  रत्नले बताउनुभयो । 

गाईभैंसीलाई कुपोषण तथा पशुलाई लाग्ने रोगविरुद्धको खोप, जुकाको औषधि, पोषण औषधि समयमै गर्न सके पशुमा हुने बाँझोपन नियन्त्रण गर्न सकिने आयोजना क्लष्टर इकाई प्रमुख रामसोगारथ साहले बताउनुभयो ।

सरकारी तवरबाट हाम्रो उत्पादन र पशुका लागि केही चासो दिएको छैन । तर आयोजना क्लष्टर इकाईले पशु शिविर सञ्चालन गरिँदा यहाँका संयौ किसानहरू लाभान्वित र आकर्षित भएको स्थानीय कृषक मुकेश साहले बताउनुभयो ।गाउँपालिकाले ल्याउने कार्यक्रमले स्वास्थ्य पशु पशुजन्य उत्पादनमा वृद्धिको उद्देश्य राखिएको राजगढ गाउँपालिकाको अध्यक्ष ओमप्रकाश मण्डलले भन्नुभयो ।