नवीन शिशिर विक
बागलुङ, चैत ३० गते । बागलुङ नगरपालिका–११, रायडाँडा रामतोलाका वीरबहादुर केसीको मन अत्तालिएको छ। गत असोजमा बस्तीमाथिबाट गएको पहिरोले दिएको पीडा आउँदो बर्खामा पनि दोहोरिने चिन्ताले उहाँलाई पिरोल्न थालेको हो। रामतोला क्षेत्रमा पहिरोको जोखिम कायमै भएको हुँदा बर्खा नलाग्दै स्थानीयलाई पहिरोको त्रासले सताउन थालेको छ।
पहिरोको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन। छोडेर जाऊँ अन्यत्र कतै ठाउँ छैन। घर वरपरको जमिन चर्केको छ। घर छेउको बारीमा चिरा परेको छ। पानी रोकिएपछि हिउँदमा जसोतसो सम्हालिएको मन अहिले आकाश गड्याङगुडुङ गर्दा आत्तिन थालेको छ। रायडाँडा तल्लो रामतोलाको बस्तीमा पहिरोले फेरो हालेको छ।
गएको भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन्। दशैँका बेला एक हप्ता निरन्तरको वर्षामा पहिरो निरन्तर बगिरह्यो। गाउँलेले घर छाडेर छिमेकीकोमा बसे। हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँलेहरू आउँदो बर्खामा फेरि घर छोड्नुपर्ने चिन्तामा छन्।
बर्खाको समय आफ्नो घरमा बस्न सक्ने अवस्था नभएको स्थानीय कुलराज शर्माको भनाइ छ। बसाइँ सरेर अन्त जाने ठाउँ नहुँदा जोखिमपूर्ण अवस्थामा रहेको शर्माले बताउनुभयो। पहिरोका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छोडेर हिँड्नुभयो। छोराले कोठा भाडा लिएर उहाँलाई पोखरा लानुभयो। कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घरगोठ चर्केका छन्।
पहिरोले घरगोठ पूर्ण रूपमा क्षति नभएसम्म सरकारले कुनै प्रकारको राहत दिँदैन। शर्माले भन्नुभयो, “पहिरोबाट प्रभावित छौँ, सहयोग पाएका छैनौँ। पूर्ण क्षति नभएसम्म राहत पाउन नसकिने रहेछ।” अघिल्लो बर्खा सकिनै लाग्दा सुरु भएको भीषण पहिरोबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो।
पहिरोको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ। पूर्ण प्रभाव परेका सात घर रहेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो। वडाध्यक्ष गौतमले भन्नुभयो, “पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानान्तरण गर्न सकिएन। हिउँदभरिमा पहिरोको अध्ययन, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काम मात्रै गर्न सकियो।”
बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ। घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउनुहुन्छ। बस्ती स्थानान्तरण गर्न खोजे पनि जग्गा अभावले सम्भव नभएको वडाध्यक्ष गौतमको भनाइ छ। गौतमले भन्नुभयो, “सार्वजनिक जग्गा मन्त्रीपरिषद्बाटै पारित हुनुपर्ने रहेछ। वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ ?”
वडामै रहेको जग्गामा बस्ती स्थानान्तरण गरे पनि पीडितहरू घर छोडेर हिँड्ने मानसिकतामा नरहेको उहाँको दाबी छ। खेतीपातीका कारण बस्दै आएको ठाउँ छोड्न स्थानीयले कठिन मानेका छन् ।
प्रदेश सरकार र बागलुङ नगरपालिकाले पहिरो र जोखिमबारे ध्यान त दिएका छन् तर उपयुक्त निकास खोजेर पीडितको व्यवस्थापन हुन सकेको छैन।
पहिरोले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ। गत हप्ता भएको बर्सातले पहिरोबाट माटो बगेर बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान नै बगाएको थियो। वडारका केही घरसमेत पहिरोका कारण विस्थापित हुने अवस्थामा छन्।