शिवराज ढुंगाना
अछाम, चैत २९ गते । बस व्यवसायी प्रालि.ले मृतकको उपचारमा लागेको खर्च बेहोर्ने र मृतकका पत्नीलाई जागिर दिने सहमति भएपछि पाँचौँ दिनबाट यातायात सेवा सञ्चालनमा आएको छ । मृत्यु भएका व्यक्तिका आफन्त र सुदूरपश्चिम बस यातायात प्रालि.बीच जिल्ला प्रशासन कार्यालयमा सहमतिपछि सवारी चल्न थालेको हो ।
पीडित पक्ष र सुदूरपश्चिम यातायात प्रालि.बीच सहमतिपछि सवारी साधन सञ्चालनमा आएको प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी मीनराज आचार्यले बताउनुभयो ।
बसको ठक्करबाट घाइते भएर उपचारको क्रममा मृत्यु भएका साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको उपचारमा लागेको विलअनुसारको सबै खर्च सुदूरपश्चिम यातायात व्यवसायी प्रालि.ले व्यहोर्ने सहमति भएको छ ।
साथै तेस्रो पक्षको बीमा रकम दुई महिनाभित्र पीडित पक्षले पाउने सहमति भएको साँफेबगर नगरपालिका –३ का वडा अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिनुभयो । मृतकको परिवारलाई काजक्रिया खर्च प्रालि.ले तत्काल उपलब्ध गराउने, मृतकका पत्नीलाई साँफेबगर यातायात काउन्टरमा रोजगारी दिने निर्णय भएको वडा अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
चैत १९ गते साँफेबगर नगरपालिका –७ रिडिकोटको वडा कार्यालय नजिक बसले मोटरसाइकलमा सवार हेमराज र सरस्वती कुँवरलाई ठक्कर दिएको थियो । जिल्लामा उपचार नभएपछि थप उपचारका लागि हेमराजलाई नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा चैत २० गते भर्ना गरिएको भए पनि २४ गते निधन भएको थियो ।
हेमराजको निधनपछि आफन्तले साँफेबगरमा सडक र बजार बन्द गर्दा अछाम र बाजुराको यातायात क्षेत्र अवरुद्ध भएको थियो । साँफेबगर क्षेत्र भएर जाने लामो तथा छोटो दूरीका सवारी साधन चार दिनसम्म ठप्प थिए । गत शनिबारबाट पीडित पक्षले गरेको बन्द आजदेखि खुलेपछि सवारी साधन सुचारु भएका छन् ।