• १२ मंसिर २०८१, बुधबार

महिला हिंसा न्यूनीकरणमा प्रहरी परिचालन

blog

महिला हिंसाविरुद्ध परिचालित हुने प्रहरी अधिकृत र शाखा केन्द्रित कर्मचारीलाई आवश्यक जानकारी गराइदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत २९ गते । 
जिल्ला प्रहरी कार्यालय कालीकोटले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि अभियान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटको मातहतमा रहेका प्रहरी चौकीका अधिकृत तथा महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीलाई तालिम दिएर महिला र बालबालिका माथि हुने सबै खाले हिंसा अन्त्यका लागि गाउँ केन्द्रित अभियान सुरु गरेको हो ।

बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका सेभःद चिल्ड्रेन, किर्डाक नेपालको सहयोग तथा जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा दुई दिने तालिमको आयोजना गरी पीडित महिला र बालबालिकाको भित्री कुराको अध्यापन तथा अनुसन्धान र मनोसामाजिक परामर्श दिन सहज बनाउन खोजिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले सचेनताको अभावले समाजमा विशेष गरी महिलामाथि बढी नै अन्याय हुँदै आयको प्रति राज्य चनाखो भइरहेको र प्रहरी प्रशासनले पनि त्यसलाई गम्भीरता पूर्वक लिएको बताउनुभयो ।

प्रजिअ माझिले पछिल्लो समय महिला हिंसाका घटनामा कमी हुँदै आएको र पूरै न्यूनीकरणका लागि यो तालिमले थप सहयोग पुग्ने बताउनुभयो ।

प्रजिअ माझिले पीडितको पक्षमा रहेर प्रतिवेदन तयार भएको खण्डमा मात्र न्यया पाउने भएकाले प्रहरी प्रतिवेदन पीडितको पक्षमा हुने गरी बनाउन सहयोग पुग्ने जानकारी दिनुभयो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले  महिला र बालबालिकाको क्षेत्रमा पुरुष प्रहरी जति सक्षम भए पनि आन्तरिक कुरा खुल्न नसक्ने भन्दै महिला प्रहरी केन्द्रित क्षमता अभिवृद्धि कार्यक्रम गरेर समुदायमा केन्द्रित गरेको बताउनुभयो ।

सीप ज्ञान आफ्ना लागि भएको भन्दै गम्भीरता पूर्वक ध्यान दिन उहाँले सबैसँग अनुरोध गर्नुभयो ।

किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले महिला हिंसाका घटना कम गर्न पर्याप्त क्षमताको अभाव हो कि भन्ने महसुस भएर तालिमको आयोजना गरेको बताउनुभयो । पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष भरतराज विष्टले महिला सशक्तीकरणका साथै महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रहरीलाई तालिम दिनु समय सान्दर्भिक रहेको बताउनुभयो ।

सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक बाले विश्वकर्माले  सेभःद चिल्ड्रेन किर्डाक नेपाल महिला, बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानमा हातेमालो गरिहरेको जानकारी दिनुभयो ।