मनहरी समाचारदाता
मनहरी (मकवानपुर), पुस २ गते । चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ । मनहरी गाउँपालिका–६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले विपन्न परिवारका उपभोक्ता सदस्य खाटको अभावमा चिसो भुईंमा सुत्न बाध्य भएकाले काठबाट बनेका बलिया खाट वितरण गरेको जनाएको छ ।
आफ्नै वन समूहबाट उत्पादित काठको उपयोग गरी निर्माण भएका चारखुट्टे खाट वितरण गरिएको समूहका सचिव रमेश कार्कीले बताउनुभयो । ४३ परिवारलाई ४५ वटा खाट वितरण गरिएको र प्रतिखाट पाँच हजार पाँच सय रुपियाँ लगानी परेको उहाँले बताउनुभयो । वन समूहले सञ्चालन गरेको सिलाइकटाइ तालिममा सहभागी भएर उद्यम गर्न चाहने दुई जना महिलालाई सिलाइकटाइ मेसिनसमेत प्रदान गरेको छ । समूहले आफ्नो क्षेत्रमा रहेको एक मात्र माध्यमिक तहको विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयमा स्थापित अक्षयकोषका लागि १० लाख रुपियाँ थप गरेको छ । यसअघि नै समूहले १० लाख रुपियाँ उक्त कोषमा लगानी गरिसकेको थियो । वन समूहले आफ्नो क्षेत्रमा रहेको पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्रले सञ्चालन गरेको आमा समूह सञ्चालनका लागि ५० हजार, बृहत् जोगीताल खानेपानी योजनालाई दुई लाख रुपियाँ लगानी गरेको छ । कृषि क्षेत्रतर्फ जनजागृति दुग्ध उत्पादक संस्थामार्फत उपभोक्तालाई बाच्छी वितरण गर्न एक लाख रुपियाँ हस्तान्तरण गर्ने सम्झौतासमेत गरिएको वन समूहकी अध्यक्ष पार्वती मुक्तानले बताउनुभयो । एक समारोह आयोजना गरी वन समूहले डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेम थापाको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको छ ।