काठमाडौँ, चैत २९ गते । नेपाली चलचित्र ‘प्रसाद २’ सार्वजनिक प्रदर्शन गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि चलचित्र सार्वजनिक गर्ने बाटो खुलेको हो। केशव पाण्डेले चलचित्रको प्रदर्शनी गर्न रिट दायर गर्नुभएको थियो।
सोमबार भएको बहसपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले जारी गरेको आदेशमा निर्माण भइसकेको चलचित्रको प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएको भन्दै निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने उल्लेख गरिएको छ।
उच्च अदालतको आदेश आएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रमा काम गर्ने श्रमजीवीको पक्षमा आदेश आएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, “बोर्डले सबै पक्षलाई विश्लेषण गरी रिलिज हुन दिने निर्णय गरेको थियो तर कसैको व्यक्तिगत हिसाबकिताबका आधारमा सयौँ श्रमजीवीले काम गरेको सिङ्गो चलचित्रलाई नै प्रदर्शन हुन नदिने नियतविरुद्ध अदालतको आदेश सम्मानजनक छ।”