• ७ असार २०८२, शनिबार

सुनिनै छाडे पप गीत

blog

सन्तोष सुवेदी

कास्की, असार ७ गते । कुनैबेला पप गीतको खानी बनेको पोखरामा आजभोलि पप गीत विरलै सुन्न पाइन्छन् । पप ब्यान्डले भरिभराउ हुने पोखरामा हिजोआज पप ब्यान्ड पनि हराउँदै गएका छन् । २०५० दशकतिर पोखरामा हरेक हप्ता नयाँ नयाँ पप गीत रेकर्ड हुन्थे । विभिन्न पप ब्यान्डले हरेक हप्ता साङ्गीतिक कार्यक्रम आयोजना गर्थे  ।

रेडियो र टेलिभिजनमा पोखरेली गायक तथा ब्यान्डका गीतको चर्चा हुन्थ्यो । हिजोआज पोखरामा नयाँ पप गीत सुन्नै छाडिएको बर्सौं पुग्न थाल्यो । ब्यान्डको चहलपहल सुनसान हुँदा पप गीतका एल्बम पनि आएका छैनन् । पोखरामा एकताका पप ब्यान्ड खुल्ने क्रम फेसन जस्तै थियो । अहिले धेरै ब्यान्ड हराइसके । गायक विनोद बानियाँ पोखरामा पप ब्यान्ड हराएको झैँ भएको बताउनुहुन्छ । “एक समय निकै पप ब्यान्ड थिए । अहिले पहिलाको जस्तो छैन । औँलामा गन्न सकिने दुई/चार वटा मात्र सक्रिय होलान् तर ती ब्यान्डले पनि नयाँ गीत ल्याउन नसकेको अवस्था छ,” उहाँले भन्नुभयो । केही महिनापहिले पोखरा साङ्गीतिक कलाकार सङ्घले ‘ब्याक टु नाइन्टिज’ कार्यक्रम आयोजना गरेर पपको पुनरागमन गराउन खोजे पनि नयाँ सिर्जना हुन नसक्दा पपको लोकप्रियता हराउँदै गएको उहाँको भनाइ छ । 

यसबिचमा केही नयाँ ब्यान्ड नआएका होइनन् तर तिनीहरूको चर्चा कतै सुनिएन । “नयाँ  पुस्ता आएको देखिन्छ तर चर्चामा आउने गीत ल्याउन नसक्दा हराए जस्तै भएको छ,” उहाँले भन्नुभयो । आर्थिक अवस्था र गाएरै जीवन धान्न मुस्किल भएपछि धेरै गायक पलायन हुनु परेको उहाँको भनाइ छ । पोखराका राम्रा ब्यान्ड हराउनु चिन्ताको विषय हो । “सङ्गीत क्षेत्रमा भविष्य नदेखेर पलायन हुनेको सूची लामो छ । त्यही भएर पनि पप गीतमा खडेरी लागेको हो,” उहाँले भन्नुभयो । पोखरामा गीत रेकर्डिङ गर्ने र एल्बम ल्याउने पहिलो ब्यान्ड योङ टाइगर थियो । यस ब्यान्डले ‘एक्लो जीवन’ नामक एल्बम बजारमा ल्याएर पप गीतलाई उचाइमा पु¥याउने प्रयास गरेको थियो तर विडम्बना, अहिले यस ब्यान्डसँग सम्बिन्धत कलाकार कता छन् कमैलाई थाहा  छ । 

लोक पप सङ्गीतमा पोखराले ठुलो योगदान दिए पनि अहिले यो विधा सहरमा सुनसान जस्तै छ । पोखरामा कन्दरा, देउराली, ब्रोसिस, डिमोर्चा, मध्याह्न, परिवेश, नमस्ते, लेकाली, रियाज, दी एज, त्रिवेणी, सृष्टि, योङ टोइगर, जिरोसिक्स म्यान, हाइवे गाइज, अन्नपूर्ण, पछ्यौरी, द संस्कार, मोक्षलगायतका ब्यान्ड कुनै समय निकै सक्रिय थिए । यीबाहेक अन्य साना थुप्रै ब्यान्ड पनि थिए । तिनले पनि नयाँ पप गीत बजारमा ल्याउन सकेका छैनन् । पोखरामा अहिले पनि पप गीतको विधालाई नेपथ्यले भने धानिरहेको  छ  । गाउँका लोकलयका गीतलाई रिरेकर्डिङ गरेर नेपथ्यले सिर्जना गरिरहेको छ । त्यसबाहेक रेकर्डिङमा धेरै नै कमी आएको बानियाँको बुझाइ छ ।