लीलाधर वली
घोराही, चैत २९ गते । घोराही उपमहानगरपालिका–५, धर्ना निवासी मिलन बुढाथोकीले लामो समयदेखि माछापालन गर्दै आउनुभएको छ । ११ वटा पोखरीमा माछापालन गरी उहाँ वार्षिक दुई सय क्विन्टल माछा उत्पादन गर्ने गर्नुहुन्छ ।
लामो समय परम्परागत कृषि गरेका बुढाथोकी पछिल्लो समय माछापालन राम्रो आम्दानीको स्रोत बनेको बताउनुहुन्छ । “पहिले परम्परागत कृषि पेसामा थिएँ । राम्रो आम्दानी नभएपछि विगत पाँच वर्षदेखि माछापालन गर्दै आएको छु,” बुढाथोकीले भन्नुभयो, “कम मेहनतमा माछापालनबाट राम्रो आम्दानी भइरहेको छ ।” पछिल्लो समय दाना महँगिँदा भने व्यवसायी समस्यामा परेको उहाँले बताउनुभयो ।
“पाँच वर्षअगाडि ५१ रुपियाँ किलोमा किनेको दाना अहिले ८० रुपियाँ प्रतिकिलोमा किन्नु परेको छ । न माछाको मूल्य बढेको छ, न त बजारीकरण नै राम्रो छ,” व्यवसायी बुढाथोकीले भन्नुभयो, “समयअनुसार मूल्य वृद्धि हुने र घरबाटै माछा बिक्री हुने अवस्था आयो भने राम्रो आम्दानी हुने गर्छ ।” व्यावसायिक माछापालन गर्दा प्राविधिक ज्ञान भए थप सहज हुने उहाँको भनाइ छ । “माछापालनसम्बन्धी व्यावसायिक ज्ञान लिएरभन्दा पनि देखासिकीका कारण लाग्ने पनि छन्,” उहाँले भन्नुभयो, “देखासिकीकै कारण व्यवसायमा संलग्न हुनेहरू असफल हुन्छन् र त्यसले अन्य व्यवसायीलाई पनि असर गर्छ ।”
घोराही उपमहानगरपालिका–५, धर्नाकै खुशलबहादुर वलीले पनि वार्षिक ८० देखि एक सय क्विन्टल माछा उत्पादन गर्दै आउनुभएको छ । छ वर्ष अघिदेखि माछापालनमा लाग्नुभएका वलीले माछापालन व्यवसाय राम्रो भए पनि बजारीकरण किसानको हितमा हुन नसकेको बताउनुभयो । “महँगी र बजारीकरणको मारमा माछापालन व्यवसायी रहेका छन्,” उहाँले भन्नुभयो ।
बजारीकरणसँगै विद्युत् महसुलसम्मको समस्यामा पनि राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको माग छ । माछापालक व्यवसायीले प्रयोग गर्ने विद्युत्को महसुल कृषिको नभई उद्योगसरह लिइँदा समस्या पर्ने गरेको भन्दै कृषि व्यवसायका रूपमा शुल्क लिनुपर्ने उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय जिल्लामा माछापालन गर्ने कृषक बढ्दै गएका छन् । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले माछापालन व्यवसायमा आकर्षण देखिने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरी बताउनुहुन्छ । उहाँका अनुसार जिल्लामा माछापालन व्यवसायीले राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लामा माछापालनका लागि जमिनसमेत उपयुक्त छ ।
जिल्लामा ११० दशमलव ६५ हेक्टर जमिनमा दुई सयभन्दा बढी व्यावसायिक किसान माछापालनमा संलग्न छन् । यहाँ न्यूनतम तीन कट्ठादेखि १० बिघासम्म जमिनमा माछापालन गर्ने गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०६४/६५ बाट व्यावसायिक रूपमा माछापालन सुरु गरिएको हो ।
जिल्लामा ७९ दशमलव ०३ हेक्टर कृत्रिम पोखरी र ३१ दशमलव ६२ हेक्टर प्राकृतिक जलाशयमा माछापालन गरिँदै आएको शाखा अधिकृत चौधरी बताउनुहुन्छ । उहाँका अनुसार जिल्लामा वार्षिक ६१६ दशमलव ४५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । प्रतिहेक्टर सात मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।
सायिक किसानले कार्प कमन, सिल्भर, रोहु, नैनी, बैखालगायतका माछापालन गर्ने गरेका छन् । जिल्लामा घोराही उपमहानगरपालिकासँगै देउखुरीको लमही, गढवा र राप्ती क्षेत्रमा बढी मात्रामा माछापालन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ ।