काठमाडौँ, चैत २८ गते । सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन समितिको बैठक बस्दै छ ।
रास्वपा अनुशासन समितिका संयोजक भरत देवकोटाले अबको केही बेरमा बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “११, १२ बजेसम्ममा बैठक बस्छौँ र दिउँसो ४ बजेसम्म केही इन्फरमेसन आउन सक्छ ।” उहाँका अनुसार आज दिउँसो सम्ममा सांसद श्रेष्ठको अडियो प्रकरणबारे केही निष्कर्ष आउन सक्नेछ ।
रास्वपाको अनुशासन समितिमा चार सदस्य छन् । पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले यसबारे निर्णय गर्ने अधिकार र जिम्मा पूर्ण रुपमा अनुशासन समितिलाई दिइएको बताउनुभयो ।
केही दिन अघि सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपियाँ आर्थिक सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।