• ७ असार २०८२, शनिबार

योगले निरोगी बनाउँछः प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा । फाइल तस्बिर

अनिल पराजुली
हेटौँडा, असार ७ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले व्यस्त जीवनशैलीमा मानिस दिनप्रतिदिन तनाव, चिन्ता र रोगहरूले ग्रस्त परिरहेको अवस्थामा योगले मानिसलाई शान्त, निरोगी र सुदृढ बनाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले योग केवल व्यायाम मात्रै नभई समग्र जीवनदर्शन भएको बताउनुभयो ।

उहाँले योगले हामीलाई आत्मानुशासन र सहअस्तित्वको बाटो सिकाउने विश्वास व्यक्त गर्नुभएको छ ।  अन्तर्राष्ट्रिय योग दिवस २०८२ को अवसरमा उहाँले दैनिक केही समय योगाभ्यासमा समर्पित हुन आह्वान पनि गर्नुभएको छ । योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउने प्रेरणा मिलोस् भन्दै योग हाम्रो गौरवपूर्ण सभ्यता र सनातन परम्पराले दिएको अनुपम उपहार भएको उहाँले बताउनुभयो ।

“पूर्वीय सभ्यताले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न योगाभ्यासलाई आत्मसात् ग¥यो, आज त्यसको चमत्कारिक प्रभावलाई पश्चिमी जगत् लगायत समग्र विश्वले अवलम्बन गरेका छन्,” प्रदेश प्रमुख देवकोटाले भन्नुभयो । योग विश्वभर स्विकारिएको जीवनपद्धति बन्न पुगेको उहाँले स्मरण गर्नुभयो । यिनै मूल्य र परम्पराको सम्मान स्वरूप, हरेक वर्ष जुन २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।