• ४ जेठ २०८१, शुक्रबार

मटिहानीस्थित लक्ष्मीनारायण मठ अभिभावक विहीन

blog

लक्ष्मीनारायण मठ । तस्विर : नागेन्द्रकुमार कर्ण, महोत्तरी समाचारदाता

नागेन्द्रकुमार कर्ण

महोत्तरी, चैत २७ गते । नेपालको सबैभन्दा ठुलो राजगुठीको रूपमा चिनिने महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठ अभिभावक विहीन भएपछि मठका कर्मचारीहरू समस्यामा परेका छन् । मठ अभिभावकविहीन भएपछि मठमा कामकाज गर्दै आएका कर्मचारीहरूले तलब नपाउने, तलब पाएपनि न्यून पाएको, दैनिक उपभोग्य सामग्रीहरू पनि नपाएको गुनासो गर्दै आफूहरू अहिले समस्यामा परेको बताउनुभएको हो । 

लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास शास्त्री जग्गा बेचेर रकम ठगी गरेको आरोपमा पुस ३ गते पक्राउ परेपछि मठ अहिले अभिभावकविहीन हुन पुगेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको किर्ते चिठ्ठी तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी रुपन्देहीस्थित मेगा बैङ्कमा रोक्का रहेको खाता फुकुवा गरी ६६ लाख बढी रकम झिकेको आरोप महन्थ शास्त्रीमाथि लागेको छ । 

लक्ष्मीनारायण मठका रसोइया (भान्से) रामबालक मण्डलले सरकार (महन्थलाई बोलीचालीको भाषामा भनिने) नहुँदा हामीहरू खानाबाहेक कुनै पनि सुविधा पाउन नसकेको बताउनुभयो । ‘सरकारले (महन्थ) दिने तलबभन्दा न्यून तलब गुठीले दिएपछि हामीले साउनदेखि तलब लिएका छैनौँ, उहाँले भन्नुभयो । 

मठाधिशले मठमा काम गर्ने कर्मचारीहरूलाई गुठी संस्थानले दरबन्दी अनुसार दिने तलबभन्दा बढी तलब तथा सुविधा उपलब्ध गराउँदै आएको थियो । मठको प्राङ्गणमा रहेको प्रसिद्ध तथा ऐतिहासिक लक्ष्मीनारायण मन्दिरका पुजारी शिवशरण दासले मन्दिरमा हुने पूजापाठको सामग्रीहरू गुठी संस्थान जलेश्वर शाखाले उपलब्ध गराउँदै आएको बताउनुहुँदै सो बाहेक आफूहरूलाई थप सुविधा केही नभेटिएको गुनासो गर्नुभयो । 

"तेल, साबुनलगायतका दैनिक उपभोगका सामग्रीहरू महन्थ हुँदा पाउँदै आएका थियौँ तर अहिले किन्नु परेको छ," पुजारीले भन्नुभयो । 

यता, गुठी संस्थान जलेश्वर शाखाका अध्यक्ष किशोर कुमार झाले मठ अभिभावक विहीन भएपछि समस्या हुनसक्ने स्विकार्दै मठमा दरबन्दी अनुसारको माघ महिनासम्मको तलब पठाइसकेको जानकारी दिनुभयो । उहाँले कर्मचारीको सुख, सुविधामा कमी ल्याउन नदिन आफै पटक पटक मठको निरीक्षण भ्रमणमा जाने गरेको बताउनुहुँदै केही समस्या भएको भए आफू समाधानको लागि पहल गर्ने आश्वासनसमेत दिनुभयो । 

कर्मचारी अभावको कारणले केही समस्या रहे पनि आफूहरूले महन्थको विषयमा केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको र केहीदिन भित्रै सो सम्बन्धमा कुनै निर्णय आउन सक्ने जानकारी दिनुभयो । 

गुठी संस्थानले मानमहन्थसहित २५ जना कर्मचारीको दरबन्दी मठमा गरेको देखिएको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मठभित्रको समस्याको निराकरणको सवाल गुठी संस्थानको दायित्वमा पर्ने बत्ताउनुहुँदै आफूहरू समयसमयमा मठ र मन्दिरको सरसफाइ तथा सौन्दर्यकरणको काममा लागेको बताउनुभयो । मठको कर्मचारीको समस्याबारे पहल गर्न वडाध्यक्षलाई निर्देशन गरेको उहाँले बताउनुभयो । 

झण्डै चार सय वर्ष पुरानो मानिएको उक्त मठ करिब १० विग्हा क्षेत्रफलमा रहेको छ । सो मठको मध्यमा भगवान् लक्ष्मीनारायणको भव्य मन्दिर रहेको छ भने मन्दिरको वरिपरि भव्य महल प्रतीत हुने राजदरवारको ढाँचामा कलात्मक शैलीको ५० वटा ठुल ठुलो भवन रहेको छ । मठ परिसरको सानिन्धयमै दक्षिणतर्फ एउटा विशाल र गहिरो लक्ष्मीसागर रहेको छ । यस सागरको सम्बन्धमा मिथिला महात्मामय उल्लेख भएअनुसार त्रेता युगमा श्रीराम र जानकीको शुभ विवाहको लागी मिथिलाको परम्परा अनुसार यही सागरबाट मण्डप निर्माणार्थ माटो खनिएको थियो ।

त्रेताकालीन इतिहास बोकेको मटिहानीमा रहेको मठका महन्थलाई महन्थहरुको पनि महन्थ अर्थात् मानमहन्थको रूपमा चिनिने गरिन्छ । परम्परादेखि नै नेपालमा मानमहन्थको उपाधि लक्ष्मीनारायण मठका मठाधिशलाई दिने चलन छ । वि.सं.२०७६ सालमा रुपन्देहीको भैरहवास्थित ३ कठ्ठाभन्दा बढी जग्गा विक्री वितरण तथा दुरुपयोग गरेको आरोपमा महन्थ पदबाट दासलाई गुठी संस्थानले निलम्बन गरेको थियो । 

महन्थको नाममा रहेको जग्गा बेच्न नपाउने कानुनी प्रावधान रहे पनि रुपन्देहीको सिद्धार्थ नगरपालिका गल्लामन्डीस्थित रामजानकी मन्दिरले भोगचलन गर्दै आएको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर जग्गा महन्थ दासले बेचेको आरोप छ । 

सिद्धार्थनगरको रामजानकी मन्दिर लक्ष्मीनारायण मठ मटिहानीको शाखाको रूपमा रहेको छ ।