• १३ असोज २०८१, आइतबार

उत्तरी सीमा नाकाहरू खोल्न सांसद बडूको ध्यानाकर्षण

blog

सांसद दिलेन्द्रप्रसाद बडू

काठमाडौं, चैत २७ गते । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सिमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोलालगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवनसमेत प्रभावित भएको भन्दै उहाँले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक ध्यान लिनु जरुरी छ । उच्च प्राथमिकताका साथ महत्त्वका साथ, गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कूटनीतिक पहल होस् । यी नाकाहरू सञ्चालनमा आउन् । ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस् । केही अंशमा भए पनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ । रोजगारी सिर्जनामा नयाँ अवसर सिर्जना हुनसक्छ ।’’