• ८ वैशाख २०८१, शनिबार

सातौं चरणमा पुगेर पुलिसको पहिलो जित

blog

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोल गरेपछि खुसी मनाउँदै खेलाडी । तस्बिर : सौजन्य एन्फा

काठमाडौं, चैत २७ गते । विभागीय टोलीको नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । अघिल्ला संस्करणमा उपाधि दाबेदार पुलिसलाई यसपटक रेलिगेसन टार्न हम्मेहम्मे पर्ने देखिएको छ । 

सातौँ खेलमा विदेशी खेलाडी मोसेस सहित मैदानमा उत्रिएको पुलिसले एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । पुलिसले लिगको इतिहासमा पहिलो पटक विदेशी खेलाडी मैदानमा उतारेको हो । 

पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्नुभयो । अर्को गोल विदेशी खेलाडी मोसेसले थप्नुभएको थियो । फ्रेन्ड्सका टोरिक जेब्रिनले सान्त्वना गोल फर्काउनुभयो । 

जितसँगै पुलिसले सात खेलबाट चार अङ्क बनाएको छ । पराजित फ्रेन्ड्सको पनि समान चार नै अङ्क छ । दुवै टोलीले रेलिगेसन रेखा छल्न सकेका छैनन् । 

यसैगरी दशरथ रङ्गशालामा भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पधर्कात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा मौका गुमाएका थिए ।

यस बराबरीले उपाधि दौडमा रहेको नवप्रवेशी चर्च ब्वाइजलाई केही धक्का लागेको छ । बराबरीसँगै चर्च ब्वाइजले सात खेलबाट १३ अङ्क बनाएको छ । एपीएफको समान खेलबाट ११ अङ्क छ । 

यस्तै दशरथ रंगशालामा सोमबार साँझ भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा सुरुवाती अग्रता थ्रीस्टारले लिएको थियो । थ्रीस्टारका लागि सन्तोष शाहुखलले ७८औं मिनेटमा गोल गर्नुभयो ।

मनाङका लागि कोफी टिमोथी कुडोले ८४औं मिनेटमा बराबरी गोल फर्काउनुभयो । बराबीसँगै शीर्षस्थानमा रहेको मनाङले सात खेलबाट १५ अंक बनाएको छ । थ्रीस्टारको समान खेलबाट ११ अंक छ ।