• १९ असार २०८१, बुधबार

खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गरिने

blog

राजकुमार भट्टराई

खोटाङ, चैत २७ गते । जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्ला सभाले जिल्लाका सबै पालिका जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा सदस्य रामकुमार राई, प्रदेशसभा सदस्य पाँचकर्ण राई र जिल्लाका १० वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सभाले पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने नीतिगत निर्णय गरेको हो ।  

जिल्ला सदरमुकाम दिक्तेलबाट सबै पालिका केन्द्रसम्म जोड्ने सडकहरू दिक्तेल–साप्सुखोला–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–रोक्सिङ–खोटाङवजार हुँदै चिसापानी–मौवावोटे–बंशीलासम्मको सडक खण्डको स्तरोन्नति तथा कालोपत्रे गर्नको लागि सम्बन्धित मन्त्रालयमा पहल लिने, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड कालोपत्रे गर्न माग गर्ने, जालपा–बाक्सिला सडक खण्डलाई कालोपत्रेको लागि माग गर्ने सोल्मा–पाथेका–फेदीसम्मको सडकलाई कालोपत्रेको लागि माग गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

प्रमुख राईका अनुसार धाप्लाङ–धर्तुङ–चिसापानी–डम्वर्खुसिवालय–भञ्ज्याङखर्क सडक कालोपत्रेको लागि माग गर्ने, रसुवा–सिम्पानी–इन्द्रेणी पोखरी–मुलडाँडा–पान्धारे सडक खण्ड कालोपत्रेको लागि माग गर्ने, साप्सुखोला– माने भन्ज्याङ–पान्धारे सडक ग्राभेल भई सकेको हुँदा कालोपत्रे गर्नका लागि माग गर्ने, खोटाङबजार–वाप्लुखा सावा– लिकुवा–पामाखाम भन्ज्याङ सडक स्तरोन्नतिको लागि माग गर्ने निर्णय भएको छ ।  

यस्तै, मध्यपहाडी राजमार्गअन्तर्गत जयरामघाट–हलेसी (३५ किमी) सडक खण्डलाई मध्यपहाडी लोकमार्गको मापदण्डमा स्तरोन्नति गर्न सम्बन्धित मन्त्रालयमा माग गर्ने, मध्यपहाडी राजमार्गको सेखुवा–चखेवा खण्ड कालोपत्रेमा ढिलाइ भएकोले सम्बन्धित निकायमा पहल गर्ने, महुरे–फोक्सिङटार–गाईघाट–दिक्तेल सडक खण्डको आयोजना बेवारिसे अवस्थामा रहेकोले चाँडो सम्पन्न गराउन सम्बन्धित निकायमा पहल लिने निर्णय गरिएको छ । पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, सघन सहरी विकास प्रदेश र सङ्घबाट सडक आयोजना कार्यालयहरू सङ्घ र प्रदेशबाट सञ्चालित सडकहरू समयमा, गुणस्तरयुक्त रूपमा सम्पन्न गर्न सम्बन्धित निकायमा निर्देशन दिने निर्णय भएको छ । 

जिल्लाभरि विद्युत सेवालाई गुणस्तरीय बनाउन विद्युत प्राधिकरणलाई माग गर्ने तथा जन्तेढुङ्गा र बाँकी पालिकाको सेवा विस्तार नभएका स्थानमा तुरुन्त विद्युत प्रसारण लाइन पुर्‍याउन माग गर्ने निर्णय भएको छ । सबै पालिकामा आधारभूत अस्पताल पुर्‍याउने, नेपाल सरकारको नीति भएकोले निर्माण र सञ्चालन हुन बाँकी पालिकामा तुरुन्त अस्पताल निर्माण र सञ्चालनको लागि माग गर्ने, जिल्ला अस्पताल खोटाङ र बाँकी रहेका पालिकाको आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीको आवासगृह निर्माणको लागि माग गर्ने लगायतका निर्णय गरिएको हो ।

यसैबीच, गाउँसभाले अन्तरपालिका र अन्तरजिल्लाभित्रका योजना निर्माण सम्बन्धी १० बुँदे नीतिगत निर्णय गरेको छ । दिगो र सन्तुलित विकास लक्ष्यलाई आधार मानेर योजना बनाउने, सामाजिक न्यायमा आधारित योजनाहरू निर्माण गर्ने, वातावरणमैत्री आयोजना निर्माण गर्ने, अधिकतम रोजगारी सिर्जना हुने बहुवर्षीय आयोजना सञ्चालन गर्ने, शिक्षामा भएको लगानीलाई व्यवस्थित र वस्तुगत योजना बनाइ गुणस्तर वृद्धि हुने खालको योजना बनाउने नीति तथा कार्यक्रम पारित गरेको छ । 

यस्तै, अदक्ष श्रमशक्तिलाई दक्ष बनाउने, सिपयुक्त बनाउने आयोजना सञ्चालन गर्ने, भौगोलिक र सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुने खालका आयोजना बनाउने, भौतिक पूर्वाधारहरू कम र सम्पन्न हुने खालका आयोजना छनौट गर्ने, कृषि उपजको बजार र वितरणमा आधारित योजनहरू निर्माण गर्ने र अधिकतम स्थानीय श्रम परिचालन हुने योजना बनाउने नीतिगत निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख राईले बताउनुभयो ।