• १३ मंसिर २०८१, बिहिबार

जमुनाहा नाकामा सिसिटिभी क्यामेरा जडान

blog

सिसिटिभीको अनुगमन गर्दै बाँकेका प्रजिअ र प्रहरी प्रमुख । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, चैत २७ गते । पश्चिम नेपालका नाकाहरूमध्ये सबैभन्दा बढी मानवबेचविखन हुने नाकाको रूपमा रहेको नेपालगञ्जस्थित जमुनाहा नाकामा मानवबेचविखन रोक्न सिसिटिभी क्यामेरा जडान गरिएको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको शक्ति समूहले पछिल्लो मानवबेचविखन रोक्न सात वटा सिसिटिभी क्यामेरा जडान गरेको हो ।

ती सात वटा क्यामेरामध्ये चारवटा मुख्य नाकाको गेटमा, दुईवटा बालमैत्री मनोविमर्श परामर्श केन्द्रमा र एउटा सिसी क्यामेरा इलाका प्रहरी कार्यालय जमुनाहको कार्यालय अगाडी सडक छेउमा जडान गरिएको शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले बताउनुभयो । उहाँका अनुसार उक्त सिसी क्यामेरालाई आवश्यकता अनुसार ‘रोटेट’ गर्न मिल्नुका साथै टाढाको दृश्य ‘जुम’ गरी ‘अब्जेक्ट’ पहिचान गर्न सकिन्छ । यस क्यामेराबाट कैद भएका दृश्य स्पष्ट देखिने र ४२ दिनसम्म स्टोर गरेर राख्न मिल्ने अध्यक्ष तामाङको भनाइ छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सिसी क्यामेराले सीमा नाकामा हुने मानव बेचबिखनका साथै अन्य विभिन्न आपराधिक क्रियाकलापलाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले यहाँ धेरै पहिले नै क्यामेरा जडान भइसक्नु पर्नेमा हाल भएको जनाउँदै नाकामा विभिन्न कारणले क्यामेरा राखिनु आवश्यक रहेको बताउनुभयो। 

नाकामा सात वटा क्यामेरा जडान गरिएपछि मानवबेचविखन रोक्न सहज हुने र त्यसबाट प्रमाण सङ्कलनमा मद्दत पुग्ने माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुभयो । नाकामा जडान गरिएको सिसिटिभी क्यामेराको सहयोगले विभिन्न आपराधिक गतिविधिसँगै मानवबेचविखन नियन्त्रणमा सहज हुने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । 

पश्चिम नेपालका विभिन्न पहाडी जिल्लाका ग्रामीण क्षेत्रका महिला तथा बालबालिकालाई भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण काममा लैजान प्रयोग गरिने प्रमुख नाकाको रूपमा जमुनाहा नाका रहेको छ ।