• ११ मंसिर २०८१, मङ्गलबार

फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु

blog

मनिला, चैत २७ गते । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका सहरबाट लाखौँ मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् ।

फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौँदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताउनुभएको छ ।

फजार्डोले एएफपीसँग भन्नुभयो, “महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसाेर्टमा जानका लागि केही उत्साहित भए । धेरै मानिसको भीडमा केही दुःखद घटनाहरू भएका हुन् ।”

मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुन्द्री किनारमा पसेकाहरू रहेका छन् ।

फजार्डोले मृतकको सङ्ख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताउनुभएको छ । “रिसोर्ट र समुद्र तटहरू खचाखच भरिएका थिए । यसले पनि डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको हुनसक्छ,” उहाँले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ । रासस/एएफपी