किन्शासा, मङ्सिर २९ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये एक लाखभन्दा बढी बालबालिका छन् ।
यसबारे संयुक्त राष्ट्र बालकोषले आइतबार जानकारी दिएको हो । संस्थाले दक्षिण किभुमा हिंसात्मक गतिविधि तीव्ररूपमा बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न द्वन्द्वमा संलग्न सबै पक्षलाई आह्वान गरेको छ ।
हिंसाले अझ फैलिँदै गएपछि विस्थापितको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ । डिसेम्बर २ यता भएको लडाइँका क्रममा कम्तीमा चार बालबालिकासहित सयौँ मानिसको ज्यान गएको छ । छिमेकी बुरुन्डीमा पनि हिंसाबाट भागेका व्यक्तिको सङ्ख्या तीव्ररूपमा बढेको छ ।
डिसेम्बर ६ देखि ११ सम्म पचास हजारभन्दा बढी नयाँ आगन्तुक पहिचान भएका छन्, जसको करिब आधा बालबालिका छन् । शरणार्थीको पहिचान प्रक्रिया जारी रहेकाले यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।
यसै साता मार्च २३ आन्दोलन नामक विद्रोही समूहले दक्षिण किभुको दोस्रो ठुलो सहर उभिरा नियन्त्रणमा लिएको घोषणा गरेको थियो । यसअघि प्रान्तीय राजधानी बुकाभु फेब्रुअरीमा विद्रोही समूहको नियन्त्रणमा परेपछि उभिरालाई अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग गरिएको थियो ।
विशेषज्ञले उभिरा गुम्दा समयक्रममा दक्षिणपूर्वी क्षेत्रतर्फ मार्ग खुल्न सक्ने चेतावनी दिएका छन् । बाराका र फिजी क्षेत्रमा पनि सरकारी सुरक्षा बल र विद्रोही समूहबिच झडप भइरहेको छ । रासस/सिन्ह्वा