हुम्ला समाचारदाता
हुम्ला, चैत २७ गते । सिमकोट गाउँपालिकाले दिने सेवा प्रभावकारी नभएको गुनासो नागरिकको छ। गाउँपालिकाद्वारा आयोजित अर्धवार्षिक सार्वजनिक सुनुवाइमा नागरिकले सो गुनासो गरेका हुन्। जो सेवाग्राहीका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ हो, तिनै सेवाग्राही उपस्थित नभएको आरोपसमेत उनीहरूको थियो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रतिनिधि छक्कबहादुर रोकायाले सार्वजनिक सुनुवाइ कार्यक्रम सार्थक हुन नसकेको आरोप लगाउनुभयो।
उहाँले गाउँपालिकाले सम्पादन गर्ने कार्यक्रम गाउँगाउँका सेवाग्राहीका लागि भएको तर सुनुवाइ कार्यक्रममा वास्तविक उपभोक्ता र सेवाग्राही सहभागी नभएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “वडाध्यक्षमार्फत कम्तीमा एउटा वडाबाट पाँच जना सेवाग्राही उपस्थित गराएको भए गुनासा र सुझाव आउने थिए। सार्वजनिक सुनुवाइमा वास्तविक सेवाग्राहीको उपस्थिति छैन, कसरी सेवाग्राहीको वास्तविक समस्या आउँछ ?”
सिमकोट गाउँपालिका–७ को डाँडाफयाकी दलित महिला सदस्य रुप्सी सुनारले गाउँपालिकाद्वारा सम्पादन हुने कार्यक्रमबारे आफूजस्तै सबै महिला सदस्यलाई जानकारी नै नहुने बताउनुभयो।