काठमाडौँ, असार ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताउनुभएको छ ।
शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १ सय १२ मिलियन मेट्रिक टन ग्याँस पत्ता लागेको बताउँदै यसबाट नेपालले आर्थिक उन्नति गर्न सक्ने बताउनु भयो । उहाँले दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम सुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताउनु भयो । धौवादी फलाम कारखानाको काम अघि बढिरहेको र धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल प्राप्त हुने दाबी गर्नुभयो । त्यसले देशलाई ठुलो टेवा पुग्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजो मात्रै एउटा समाचार आयो । अखबारहरूमा व्यापक स्थान पायो । दैलेखमा नेपाललाई ५० वर्ष कमसेकम पुग्ने गरीको मिथेन ग्याँस पत्ता लाग्यो । त्यो प्रमाणित भयो । १ सय १२ मिलियन मेट्रिक टन होला सायद अथवा ठुलो मात्रामा ५० वर्ष नेपाललाई पुग्ने गरी तीन वटा कुवा छ त्यहाँ त्यसमध्ये एउटाबाट मात्रै ५० वर्ष नेपाललाई मिथेन ग्याँस त्यहाँबाट पैदा हुन्छ । जुन कुरा यो फ्लाइओभर सुरु गरेको जस्तै त्यसको पनि सुरुवात मैले नै गरेको थिएँ । हामी धौवादी फलाम कारखाना अघि बढाउँदै छौँ ।
धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै हामीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल आदि कारखानाहरू यहाँ स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ । वार्षिक ठुलो आम्दानी त्यहाँबाट हुनेछ । धेरैले रोजगारी नेपालभित्र पाउनेछन् । अरू खनिजको उत्खनन हुन्छ ।’
प्रधानमन्त्री ओलीले उहाँले धौवादी फलाम कारखानाको उत्खनन र मिथेन ग्याँसको प्राप्तिसँगै विदेश जाने मुद्रा नेपालमै रहने र वार्षिक ठुलो आम्दानी हुने बताउनु भयो । यसले स्वदेशमै रोजगारी सिर्जना हुने बताउनु भयो ।