• १२ मंसिर २०८१, बुधबार

नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु

blog

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगर ।

कास्की समाचारदाता

कास्की, चैत २७ गते । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले नागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउनुभएको छ। 

मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासुजस्तै सम्बन्ध रहेको बताउनुभएको हो। 

उहाँले आपराधिक क्रियाकलाप रोक्नका लागि नागरिकको महत्त्वपूर्ण भूमिका रहने बताउनुहुँदै प्रहरीसँगको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्नुभयो। “सचेतना र अन्तक्र्रिया कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सामीप्यता कायम गर्न सहयोग गर्छ। 

नेपाल प्रहरीले अघि सारेका कार्यक्रम मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदारी कार्यक्रमको पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो। 

“नागरिकका लागि ल्याउनुभएको यी कार्यक्रम अत्यन्तै राम्रा र उपयोगी छन् तर यी कार्यक्रमको कार्यान्वयन हुन अति आवश्यक छ,” उहाँले थप्नुभयो। मन्त्री गाहामगरले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गराउनका लागि प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहने बताउनुभयो। 

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले नेपाल प्रहरीसँग मुस्ताङवासी सहकार्य गर्दै अघि बढेको बताउनुभयो। उहाँले भौगोलिक अवस्थाका कारण मुस्ताङमा सुरक्षाकर्मीलाई काम गर्न कठिन रहेको उल्लेख गर्नुभयो। 

त्यस्तै मन्त्री गाहामगरले चीनसँग सीमा जोडिएको कोरला नाकाको अवलोकन गर्नुभएको छ। सो नाकाको अवलोकन गर्न पहिले पनि गएको बताउदै उहाँले सङ्घीय सरकारले नीतिगत रूपमा विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो।