• १० मंसिर २०८१, सोमबार

अन्तिम ओभरमा रिंकु चम्किएपछि कोलकोताको रोमाञ्चक जित

blog

रिंकु सिंह ।

काठमाडौं, चैत २६ गते । अन्तिम ओभरमा रिंकु सिंहले चमत्कारपूर्ण प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा अविश्वसनिय जित निकालेको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबाद गुजरातमा आइतबार साँझ भएको खेलमा कोलकाताले गुजरात टाईटन्सलाई तीन विकेटले हरायो । जितका लागि दुई सय पाँच रनको लक्ष्य पछ्याएको कोलकाताले अन्तिम बलमा सात विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । अन्तिम ओभरमा रिंकु सिंहले लगातार पाँच छक्का हान्दै कोलकातालाई जिताउनुभएको हो । 

कोलकत्ताका लागि वेंकटेस सर्वाधिक ८३ रन बनाउनुभयो । रिंकु सिंहले अविजित ४८ रन बनाउनुभयो । उहाँले ६ छक्का हान्नुभएका उहाँले अन्तिम ओभरको पाँच बलमा पाँच छक्का हान्नुभएको थियो । कप्तान नितिश राणाले ४५ रन जोड्नुभयो । 

बलिङमा गुजरातका लागि कप्तान राशिद खानले ह्याट्रिक सहित तीन विकेट लिनुभयो । अल्जारी जोसेफले दुई तथा मोहम्मद सामी र जोस लिटिलले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय चार रन बनाएको थियो । गुजरातका लागि विजय शंकरले अविजित ६३ र साई सुदर्शनले ५३ रन बनाउनुभयो । शुभमन गिलले ३९, ऋद्धिमान शाह १७ र अभिनव मनोहरले १४ रन बनाउनुभयो ।

बलिङमा कोलकाताका सुनिल नारायणले तीन विकेट लिनुभयो । सुयश शर्माले एक विकेट झार्नुभयो । तीन खेलमा दोस्रो जित निकालेको कोलकाता चार अंकसहित दोस्रो स्थानमा छ । समान चार अंक बनाएको गुजरात चौथो स्थानमा छ । एजेन्सी