• २६ असार २०८२, बिहिबार

अदानचुलीले बनायो स्थानीय पाठ्यक्रम

blog

विद्यालयका प्रधानाध्यापकलाई पाठ्यपुस्तक हस्तान्तरण गरिँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, असार २६ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका विद्यालयमा बुधबारबाट स्थानीय पाठ्यक्रम ‘उज्यालो अदानचुली’ को पढाइ सुरु भएको छ । पाठ्यक्रम छापेर गाउँपालिकामा आइपुगेको र सो पाठ्यक्रमको पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएपछि पठनपाठन सुरु गरिएको हो । 

तयार भएको पाठ्यक्रम छापिएर गाउँपालिकामा आइपुगेको र सो पुस्तक मङ्गलबार विद्यालयलाई हस्तान्तरण गरिएकाले बुधबारबाट गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टीका उपाध्यायले बताउनुभयो । उक्त गाउँपालिकामा २० वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा पाठ्यक्रमको पुस्तक पुगिसकेका कारण पठनपाठन सुरु भएको उहाँले बताउनुभयो । कक्षा १ देखि ८ सम्म यसको पठनपाठन सुरु भएको हो । यस वर्ष पाठ्यक्रमका आधारमा पठनपाठन हुने र आगामी वर्ष पाठ्यपुस्तक छपाएर त्यसबाट पठनपाठन गरिने छ । पाठ्यक्रमका पुस्तकहरू गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई हस्तान्तरण गर्नुभयो । 

‘उज्यालो अदानचुली’ मा गाउँपालिकाभित्र बसोबास गर्ने सबै जाति तथा धमावलम्बीका रहनसहन, चालचलन, धर्म संस्कृति, रीतिरिवाजलाई समेटिएको छ । यो पाठ्यक्रमका बारेमा शाखाले कक्षामा अध्ययन गराउने शिक्षकलाई अभिमुखीकरणसमेत गरेको छ । अब हुम्ला जिल्लामा छ वटा गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर विद्यालयमा पठनपाठन सुरु गरेका छन् । यसमा सिमकोट, ताँजाकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड र अदानचुली छन् भने चङ्खेली गाउँपालिकाले अझै पाठ्यक्रम निर्माण गर्न सकेको छैन ।