• २७ असार २०८२, शुक्रबार

बाढीले काठेपुल बगाउँदा यातायात ठप्प

blog

काठेपुल रहेको ठाउँ थाक्पु खोलामा आएको बाढी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २६ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित थाक्पु खोलामा आएको बाढीले मोटर गुड्ने काठेपुल बगाउँदा यातायात ठप्प भएको छ। तमोर कोरिडोर सडकअन्तर्गत रहेको थाक्पु खोलाको काठेपुल बाढीले बगाउँदा बुधबार रातिदेखि यातायात ठप्प भएको हो ।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बुधबार राति वषासँगै थाक्पु खोलामा बाढी आएको हो। बाढीले थाक्पु खोलाको काठेपुल र खोला आसपास क्षेत्रको करिव २०० मिटर सडकसमेत क्षति गर्दा यातायात पूर्णरुपमा ठप्प भएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो। 

उहाँका अनुसार बाढीले काठेपुलसँगै सडक क्षति गरेकाले अब तत्काल सडक सञ्चालनमा आउने अवस्था छैन। बाढीका कारण सडक अवरुद्ध भएपछि वडानम्बर ७ ओलाङ्चुङगोलातर्फ यातायात सुविधा ठप्प भएको छ। बर्खा मौसम भएकाले सडक र काठेपुल तत्काल पुनर्निर्माण गर्ने अवस्था नभएको बताइएको छ ।

यस्तै थाक्पु खोलाबाट उत्पादित लघु जलविद्युतको कुलो बाढीले क्षतिग्रस्त बनाएपछि विद्युत सेवा पनि अवरुद्ध बनेको छ। लघु जलविद्युतको उत्पादन अवरुद्ध हुँदा लेलेपका साविक ३, ४, ५, ६ र ७ वडाका बासिन्दा विद्युत सुविधाबाट बञ्चित भएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो।