चित्रकुमार मिजार
सिन्धुपाल्चोक, असार २६ गते । भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककानुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले उक्त सडक पूर्ण रुपमा बन्द भएको छ ।
सडक माथिबाट आएको पहिरोले सडक बगाएको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको छ । सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स आउजाउ रोकिएका छन् । त्यसको मार बिरामी, यात्रुलाई परेको छ ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले पहिरोले बन्द भएको सडक सूचारु गर्न काम थालिएको बताउनुभयो । सडक डिभिजनले डोजर लगाएर सडक खुलाउन लागेको छ । सो बन्द सडक सञ्चालनका लागि भोटेकोशी गाउँपालिका आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिरहेको पालिका अध्यक्ष पासाङ नृर्पु शेर्पाले जानकारी दिनुभयो ।