• २६ असार २०८२, बिहिबार

कर्नाटकालीन दुर्वासागढी ओझेलमा

blog

दुर्वासागढीमा भेटिएका मूर्ति ।

विजयकुमार साह 

ढल्केबर, असार २६ गते  । धनुषाको विदेह नगरपालिका–२, दुहबीस्थित दुर्वासा मन्दिरपरिसरमा कर्नाटकालीन भनिएका नौ सय वर्ष पुराना मूर्ति र ऐतिहासिक वस्तु भेटिए पनि त्यसको ऐतिहासिक खोज, संरक्षण र प्रचारप्रसार अभावका कारण यो क्षेत्र ओझेलमा परेको छ । पाँच दशकअघि उत्खननका क्रममा भेटिएका ती पुराताìिवक वस्तु छानो नभएको पुरानो घरमा राखिएको छ । जनकपुरधामबाट करिब १० किलोमिटर पूर्व भारतीय सीमानजिक रहेको दुर्वाशा गढीमा भेटिएका मूर्तिको वैज्ञानिक परीक्षण, दस्ताबेजीकरण र अध्ययन अहिलेसम्म हुन सकेको छैन । 

स्थानीय बासिन्दाका अनुसार यो क्षेत्र महर्षि दुर्वासाको तपस्या स्थल हो । यही मान्यताका आधारमा यस ठाउँलाई ‘दुर्वासागढी’ पनि भन्ने गरिएको छ । हिन्दु धर्मग्रन्थ अनुसार सत्ययुगदेखि द्वापरयुगसम्म दुर्वासा मुनिको उपस्थिति यहाँ रहेको मान्यता छ । त्यसैले यो क्षेत्र पौराणिक रूपमा पनि महìवपूर्ण छ ।

स्थानीय उमेशकुमार पण्डितले ५० वर्षअघि उत्खननका क्रममा  देवीदेवताका कलात्मक मूर्ति भेटिएको बताउनुभयो । उहाँका अनुसार तत्कालीन समयमा गरिएको उत्खननबाट करिब आधा दर्जन मूर्ति तथा ऐतिहासिक वस्तु भेटिएका थिए । त्यसयता त्यहाँ पूजाआजा चल्दै आए पनि वैज्ञानिक रूपमा त्यसको अध्ययन, संरक्षण र प्रवर्धन हुन सकेको छैन । उत्खननका व्रmममा महìवपूर्ण वस्तु भेटिन थालेपछि तत्कालीन सरकारले थप खन्न रोक लगाएको उहाँले बताउनुभयो । उहाँले यस ठाउँमा पुनर्उत्खनन गरिए रामायणकालीन थप वस्तु भेटिने सम्भावना रहेको जानकारी दिनुभयो । विगत पाँच दशकदेखि मूर्तिको संरक्षण तथा पूजा गर्दै आइरहेकी ८१ वर्षीय ननुदेवी झाले अझै पनि उत्खनन गर्दा थप ऐतिहासिक वस्तु भेटिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मन्दिर बनाइएको ठाउँको वरिपरि अझै धेरै मूर्ति माटोभित्र हुन सक्छ ।”

नेपाल–भारत खुला सीमा संवादका अध्यक्ष डा. राजीव झाले ती मूर्तिको कलात्मकता हेर्दा कर्नाट वंशीय समयका हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ती मूर्ति करिब नौ सय वर्ष पुरानो भएको अनुमान छ । मूर्तिको प्रकृति र बनावट अत्यन्तै कलात्मक छ । मूर्तिको कलात्मकता र संरचनाका आधारमा यसलाई कर्नाटकालीन  मान्न सकिन्छ ।” 

अध्यक्ष झाले पुरातìव विभागले ती मूर्तिको वैज्ञानिक आधारमा परीक्षण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्वासागढी धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले प्रदेशको गौरवस्थल बन्न सक्छ । स्थानीय तहले पनि यसको अध्ययन, संरक्षण र प्रवर्धनमा चासो लिनु पर्छ ।”

विदेह नगरपालिकाकी उपप्रमुख आशादेवी झाले यो स्थान ऐतिहासिक तथा पौराणिक महìव बोकेको बताउँदै संरक्षण र प्रचारमा स्थानीय सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यसलाई रामायण सर्किटसँग जोड्न पहल गरिरहेका छौँ । परियोजनाका अधिकारीले पनि यहाँ आएर अवलोकन गरिसकेका छन् ।”