नवराज नेपाली
बागलुङ (गलकोट), असार २६ गते । बागलुङको जैमिनी नगरपालिका–९, पैयुँथन्थापमा मङ्गलबार राति आएको बाढीले करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ । जलविद्युत् आयोजना बगाउँदा झन्डै दुई करोड रुपियाँ बराबरको क्षति भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जलविद्युत् आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
बाढीले त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुर्याएको छ । विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुगेको उपप्रमुख शर्माले बताउनुभयो ।
बाढीले गत वर्ष मात्र ३५ लाख रुपियाँ खर्चेर निर्माण गरिएको पुल बगाएको छ भने केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ । बाढीले त्यस ठाउँको खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ । वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताउनुभयो । बाढीका कारण छ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेका छन् भने ठेउलेका पाँच घर जोखिममा परेका छन् । टेकबहादुर थापा र खड्कबहादुर थापाको गोठमा क्षति पुर्याएको छ । टेकबहादुर थापाको गोठमा रहेको एक हल गोरुको मृत्यु भएको बताइएको छ । बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ ।