• २६ असार २०८२, बिहिबार

पहिरोको अनुसन्धान गर्न बेलायत पठाइयो चिप्स

blog

पहिरो रोकथामका लागि निर्माण गरिएको चेक ड्याम । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, असार २६ गते । बुटवलको ज्योतिनगर पहिरो क्षेत्रको हलचल पत्ता लगाउन बेलायती अनुसन्धानकर्ताले पहिरो क्षेत्रमा राखेको क्यामराको चिप्स बेलायत पठाएका छन् । पहिरो नियन्त्रणका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सहायक प्रोफेसर डा. म्याक्समिलन भान डे भ्रिज र अनुसन्धानकर्ता हाजार्ड सेन्सिङसहित बुटवल आएको टोलीले गत वैशाखमा ज्योतिनगर र मिलनपथ पहिरो क्षेत्रको स्थलगत निरीक्षण गरी क्यामरा जडान गरेको थियो । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले बेलायतबाट आएको विज्ञसहितको टोलीले ज्योतिनगर र मिलनपथको पहिरो क्षेत्रमा जडान गरेको क्यामरामा चिप्स अध्ययनका लागि बेलायत पठाइएको बताउनुभयो । 

पाँच वटा क्यामराबाट पहिरोको हलचल पत्ता लगाउने, पहिरो जाने अवस्था जमिनमुनि भित्रबाट हो कि बाहिर हो भन्ने पत्ता लगाउने तथा पहिरो जाने अवस्थामा पूर्वसूचना दिने गरी क्यामरा जडान गरिएको थियो । वडाध्यक्ष ढकालले बेलायती अनुसन्धान टोली बेलायत फर्किसकेकाले क्यामराको चिप्स अध्ययनका लागि बेलायत पठाइएको र थप जानकारी केही नआएको बताउनुभयो । उहाँले चिप्सबाट पहिरोको विषयमा बेलायती अनुसन्धानकर्ताले विस्तृत अनुसन्धान गरी पहिरो नियन्त्रणका लागि उपाय सुझाउने उल्लेख गर्नुभयो । 

बुटवलमा पहिरोको अवस्था बुझ्न आएको बेलायती अनुसन्धान टोलीले क्यामराले भित्रभित्रैबाट ठुलो पहिरो जाने अवस्था पत्ता लगाउने भएकाले पूर्वसूचना दिएर यसले ठुलो जनधनको क्षति हुनबाट बचाउन सहयोग पुर्‍याउने जानकारी गराएको थियो । बुटवलका लागि ज्योतिनगर पहिरो साढे दुई दशकदेखि हैरानी बन्दै आएको छ । २०५५ भदौ २० गते बुटवलको ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिलो पटक पहिरो गएको थियो । 

स्थानीयले धेरै पटक पहिरोकै कारण विस्थापनको पीडा भोग्दै आएका छन् । सङ्घीय सरकारको सहयोगमा मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो नियन्त्रणका लागि तीन करोड रुपियाँ बराबरको काम सम्पन्न भएको छ । सङ्घीय सरकारको करिब तीन करोड रुपियाँ बजेटमा चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि चेक ड्याम, रिटर्निङ वाल, ग्याबिन जाली, बक्स कलभर्ट निर्माणको काम सम्पन्न भएको हो । चार वर्षअघि २०७८ सालमा पनि ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको थियो । 

बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार, बुटवल उपमहानगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण अहिले पहिरोको जोखिम कम भएको बताउनुभयो । 

बुटवल उपमहानगरले गत वर्ष पनि ग्याबिन जाली लगाउने, खोल्सा सफा गर्ने, पानीको बहाबलाई व्यवस्थित गर्ने जस्ता काम गरेको थियो । संयोजक खड्काले पहिरोबाट सम्भावित जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले डोजर तथा एक्साभेटर तयारी अवस्थामा राखेको बताउनुभयो ।