• ११ मंसिर २०८१, मङ्गलबार

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याल

blog

काठमाडौं, चैत २६ गते । भक्तपुर नगरपालिकाको आयोजनामा भोलिबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन भक्तपुरको टौमढीमा आज सद्भाव सभाको आयोजना गरिएको छ । 

सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव माननीय प्रेम सुवालले जात्रा, पर्व, कला र संस्कृति मानव समाजको विकास सिलसिला हो र हाम्रा पुर्खाले सुरु गरेको योत्रा विकृतिरहित ढङ्गले शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले देश विदेशमा भएका नेपाली तथा विदेशीहरूले समेत फेसबुक लाइभ तथा अन्य सञ्चारमाध्यमबाट जात्रा अवलोकन गरिने हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित गर्नेतर्फ स्थानीय तह तथा जात्रासँग सम्बन्धित सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालको अर्थतन्त्र ओरालो लाग्ने क्रममा रहेको समयमा जात्रा र पर्वहरू मनाउँदा धेरै खर्चिलो र भड्किलो नबनाई मितव्ययिता अपनाउनुपर्ने भन्दै उहाँले देशलाई आत्मनिर्भर बनाउनेतर्फ सबैले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सबैमा अपिल गर्नुभयो । उहाँले जात्रालाई भव्य र सभ्य बनाउन भक्तपुर नगरपालिकाले सरोकारवाला पक्षसँग नियमित रूपमा बैठक बसी जात्राबारे आवश्यक निर्णयहरू गरेको अवगत गराउँदै सबैको साथ र सहकार्यबाट जात्रा सफलतापूर्वक सम्पन्न गरिने आशा व्यक्त गर्नुभयो ।

भक्तपुरको कला संस्कृति, जात्रा पर्व आदिबारे नयाँ पुस्तालाई थाहा दिन भक्तपुर नपाले स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरूमा यसको अध्ययन अध्ययनमा जोड दिँदै आएको बताउँदै उहाँले कोभिड महामारीबीच पनि बिस्का जात्रालाई औपचारिकतामा सीमित गरिएको स्मरण गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेले बिस्का जात्रा भक्तपुरबासीको मात्र नभई सारा नेपालीहरूको जात्रा भएको र देशविदेशमा यो जात्रा हेरिने हुँदा जात्रा सभ्य र भव्य रूपमा मनाउन अपिल गर्नुभयो ।

भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बिस्का जात्रा सफलतापूर्वक सञ्चालनको लागि सबैको सक्रियतामा विभिन्न बैठक र कार्यक्रमहरू सञ्चालन गर्नुका साथै बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राको रूपमा रहेको हुँदा यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो । 

जात्रामा हुने अवाञ्छित र उच्छृङ्खल गतिविधिमाथि सिसी क्यामेराबाट निगरानी भई आवश्यक कारबाहीसमेत हुने उहाँले सभामा बताउनुभयो ।

त्यस्तै गुठी संस्थान भक्तपुरका प्रमुख खीमा ओलीले जात्रा सफलताको शुभकामना दिँदै नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा सफलतापूर्वक सम्पन्न गर्न गुठी संस्थानले कार्यतालिका बनाई जिम्मेवार पक्षलाई सुसूचित गरिसकेको बताउनुभयो ।

सद्भाव र्‍याली तथा सभामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, टिम, क्लब, सहकारी संस्था, विद्यालय, कलेज र स्काउट, सांस्कृतिक समूह एवम् स्थानीय जनसमुदायहरूको उल्लेख्य उपस्थिति थियो ।