• १३ मंसिर २०८१, बिहिबार

राष्ट्रिय फल घोषणा गर्न अध्ययन सुरु

blog

काठमाडौँ, चैत २६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो देशको राष्ट्रिय फल के राख्ने त्यसका बारेमा अध्ययन सुरु गरेको छ । 

राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुपर्ने प्रस्ताव गरेपछि कृषि मन्त्रालयले त्यसको अध्ययन थालेको हो । कृषि मन्त्रालयले स्रोत केन्द्रबाट आएको प्रस्तावलाई अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरलाई जिम्मेवारी दिएको छ । 

कृषि मन्त्रालयका सहसचिव सञ्जीव कर्णले राष्ट्रिय फलका बारेमा अध्ययन भइरहेको बताउनुभयो । राष्ट्रिय कृषि जैविक विविधता संरक्षण समिति र राष्ट्रिय फलफूल विकास केन्द्रलाई अध्ययन गर्न पठाएको बताउँदै उहाँले त्यहाँबाट प्रतिवेदन प्राप्त भएपछि अरू थप कार्य अगाडि बढाउने बताउनुभयो । नेपालमा थुप्रै फलफूल छन्, त्यसमध्ये एउटालाई पहिचान गरी राष्ट्रिय फलको मान्यता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही फल हुन्छ भनी अहिले कुनै त्यस्तो प्रस्ताव आएको छैन । विभिन्न फलका बारेमा अध्ययन भइरहेको छ, त्यसमध्ये एउटा सुन्तला सम्भावना भएको फल हो ।” स्रोत केन्द्रका बालकृष्ण जोशीले आफूहरूले लामो समय लगाएर अध्ययन गरी राष्ट्रिय फल सुन्तला हुनुपर्ने तथ्यसहित मन्त्रालयलाई प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाँच/छ महिनाअगाडि मन्त्रालयलाई प्रस्ताव गरेका छौँ, त्यसको अध्ययन भइरहेको भनेको छ, हेरौँ कहिले फाइनल हुन्छ ।” 

राष्ट्रिय कृषि जैविक विविधता संरक्षण समितिका सदस्य सचिव विष्णु देवकोटाले राष्ट्रिय फलका बारेमा अध्ययन अनुसन्धान सुरु भएको बताउनुभयो । त्यसका बारेमा विस्तृत अध्ययन गर्न राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरलाई पत्र पठाइएको छ । सो केन्द्रले अध्ययन सुरु गरिसकेको बताउँदै उहाँले सम्भावना सुन्तलाको नै छ तर अरू सम्भावना कुनकुन फलमा हुन सक्छ, त्यसको सबै तथ्य प्रमाणका बारेमा अध्ययन भइरहेको छ, त्यहाँबाट प्रतिवेदन आइसकेपछि थप अध्ययन गरी मन्त्रालयलाई पठाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययनमा केही समय लाग्न सक्छ ।”

विभिन्न देशले आआफ्नो राष्ट्रियलाई पहिचान दिने राष्ट्रिय फल तोकिएको छ । भारतको आँप, कम्बोडियाको केरा, मलेसियाको डुरियान जापानको हलुवाबेद, जर्मनीको स्याउ, बङ्गलादेशको कटहर, फिलिपिन्सको आँपलगायत यसरी विभिन्न देशले आफ्नो देशको राष्ट्रिय फल घोषणा गरेका छन् तर नेपाल कृषिप्रधान देश भए पनि हालसम्म त्यस्तो घोषणा गर्न सकेको छैन । भौगोलिक तथा जैविक विविधताका कारण नेपालमा आँप, कटहरजस्ता उष्ण प्रदेशीय, सुन्तला, बेलौतीजस्ता उपोष्ण प्रदेशीय फलदेखि स्याउ आदि शीतोष्ण प्रदेशीयसम्मका फल पाइए पनि कुनै फललाई राष्ट्रिय फलको मान्यता नदिनु दुःखद पक्ष रहेको स्रोत केन्द्रका प्रमुख जोशीले बताउनुभयो ।