• १७ असार २०८१, सोमबार

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

blog

ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिता ।

ताप्लेजुङ, चैत २५ गते । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जित्नुभएको छ । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उहाँले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गर्नुभयो । 

प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पूरा गर्नुभयो । फक्ताङलुङकै छत्रबहादुर कार्की तेस्रो हुनुभएको छ । उहाँले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गर्नुभयो । प्रतियोगितामा एक महिलासहित ३२ जनाले सहभागिता जनाएका थिए ।

फुङलिङस्थित पुरानो बैङ्कबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए । प्रतियोगितामा पहिलो हुनेलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो ।  रासस