• ११ मंसिर २०८१, मङ्गलबार

स्थापित मान्यता पालना नहुँदा

blog

कुनै पनि समाजलाई विकसित र सभ्य भनेर चिनाउने आधार भनेको त्यहाँको जीवनशैली, सांस्कृतिक–धार्मिक सद्भाव तथा समान व्यवहार प्रदर्शन हो । अहिले यस्तो समाजको कल्पना त गर्न सकिन्छ तर भेट्टाउन मुस्किल पर्छ । इतिहासको कालखण्डमा नेपाली समाज त्यस्तै थियो भनेर भन्न सकिने आधार प्रशस्तै छन् । हाम्रा धार्मिक परम्परा, सांस्कृतिक अभ्यास र शास्त्रहरूमा वर्णित सन्दर्भले यसको पुष्टि हुन्छ ।

हामी नेपालीको धार्मिक, सांस्कृतिक, सामाजिक अभ्यासमा समानताको प्रचुर अभ्यास र मान्यता स्थापित छ । विशेषगरी लैङ्गिक समानतामा हाम्रो धर्म, संस्कृति, परम्परामा यसलाई जसरी स्थापित गरेको छ, त्यसरी नै नेपालको संविधानले पनि स्थापित गरेको छ तर धर्मग्रन्थ, शास्त्र, पूजा–पाठको विधि, अभ्यासका साथै संविधानले दिएका समानताको अधिकार मात्र होइन कि पुरुषभन्दा नारी शक्तिशाली छन् भनेर रचिएका ग्रन्थका कथाको दैनिक पाठ गर्ने पुरुष हुन् वा नारी दुवैले त्यसको मर्म बुझ्नै नचाहेका कारण आज नेपाली नारी आफ्नो अधिकारका लागि भौँतारिइरहनु परेको छ । समानताका नारा केवल शक्ति आर्जनको विषय मात्र बन्ने गरेको छ ।

मानिस जन्मैले नारी र पुरुषका रूपमा जन्मेको हुन्छ (तेस्रो लिङ्गी पनि) । नारी र पुरुष शारीरिक रूपमा समान नदेखिए पनि कर्म, कर्तव्य र अन्य विविध विषयमा समान मात्र होइन, नारी नै अग्रणी देखिन्छन् । नारीमा प्रकृतिप्रदत्त जेजति शक्ति र ज्ञान हुन्छ, त्यो पुरुषमा हुँदैन । नारीलाई पृथ्वी र पुरुषलाई प्रकृति मानिएको छ । नारीलाई यसै भएर सृष्टिकर्ता पनि भनिन्छ । प्रकृतिले यिनै बेजोड शक्ति र ज्ञान दिएकै कारण शास्त्रले नारीलाई उच्च स्थानमा राख्दै यसको महìव उजागर गरिदिएको छ ।

शास्त्रले दिएको त्यो हैसियत र स्थान नारी स्वयंले स्मरण गर्न चाहेका छैनन् भने पुरुष वर्गले त झन् सम्झने कुरै भएन । उनीहरूलाई आफू शक्तिशाली, धनशाली भन्दै हैकम जमाउनै ठिक्क हुन्छ । नेपालको सामाजिक अभ्यास, संस्कार र परिपाटीमा छोरीको जन्म हुँदा ‘घरमा लक्ष्मी आइन्’ भन्ने गरिन्छ । छोरी जाति अर्थात् नारीको अनेकानेक महìवलाई प्रस्ट्याउँदै वैदिक सनातन शास्त्रहरूले ज्ञान, धन र शक्तिको स्रोतका रूपमा नारीलाई नै स्थापित गरेको छ । घरमा पूजा गर्दा सरस्वती, लक्ष्मी र महाकालीलाई कहिल्यै छुटाइँदैन । हरेक बिहान नारी शक्तिको पूजा गरेर दिनचर्या सुरु हुन्छ । यो अभ्यास अहिले पनि घरघरमा भइरहेको हुन्छ ।

यस्तो संस्कार र परम्परा रहेको भए पनि केही शताब्दीयता नारीलाई हेर्ने नेपाली समाजको दृष्टिकोणमा आएको परिवर्तनले भेदभावको खाडल खनेको छ । हामीले पुराना राम्रा कुरालाई अभ्यासमा त कायमै राख्यौँ तर व्यवहारमा त्यसलाई उतार्न सकेनौँ । नारी हुन् वा पुरुष; यसमा दुवैको कमजोरी छ । शास्त्रीय महत्व र व्यवहारमा उतारिएको कर्मको मर्म र महत्व बुझ्न नसक्दा नै विभेद र अपमानको शृङ्खला सुरु भएको हो ।

सांस्कृतिक, धार्मिक र व्यावहारिक दृष्टिले अहिले पनि नारीलाई प्रशस्तै महत्व दिएको छ । विद्याका लागि देवी सरस्वती, शक्तिका लागि महादेवी र धनका लागि महालक्ष्मीको पूजा–आराधना गर्ने नेपाली समाजले आधुनिक कालमा प्रवेश गरेसँगै यी मान्यतालाई केवल संस्कारी र कामकाजी प्रथाका रूपमा मात्र लिँदा नारी र पुरुषबीचको विभेदको खाडल बन्न पुगेको हो । पूर्वीय समाजमा पितृसत्ताभन्दा मातृसत्ताकै विशेषता पाइन्छ । छोरीलाई शिक्षा, धनसम्पत्तिको अधिकार, आफूले रोजेको पुरुषसँग विवाहजस्ता अधिकार शास्त्रमै वर्णित छ ।

अहिले नारी शिक्षाको कुरा गरिन्छ, नारीलाई शैक्षिक अधिकार दिनुपर्छ भन्दै योजना नै बन्छ तर पूर्वीय सभ्यतामा छोरी जाति महान् विदुषीका रूपमा स्थापित भएका अनेक पाठ्यसामग्री छन् । पूर्वीय संस्कृतिले सम्पत्ति मात्रै होइन, परिवारको यश, कीर्ति र आयु तथा गौरव बढाउने श्रेयसमेत नारीलाई नै दिएको छ । सामाजिक संस्कारमा छोरी, बुहारीलाई पेवाका रूपमा विशेष सम्पत्ति दिने गरिएको छ । गाउँघरतिर यो प्रथा अझै कायम छ । बाबुआमाले विवाहित छोरीलाई आफूले सकेअनुसारको पेवा दिने चलन छ । त्यसरी दिँदा धर्म हुन्छ भन्ने मान्यता छ । यो नारीमाथि सम्पत्तिको हक हो कि हैन ?

हरेकले घरमा मङ्गलकार्य गर्दा सबभन्दा पहिला मातृका पूजा गर्ने चलन छ । मातृका पूजा नगरी मङ्गलकार्य सम्पन्न हुँदैनन् । अष्ठमातृकाको महìव वर्णनातीत छ । मातृकामा चढाइने भेटी, वस्त्र र आभूषणमा छोरीकै हक हुन्छ । नारी नै घरको यश र श्रीवृद्धिको अभियन्ता हुन् भनिएकै कारण नारी अत्यधिक श्रम गर्दछन् तर त्यसको कदर हुन सकेको छैन । यो उनीहरूको शोषण हो । सडकमा नारी अधिकारको नारा घन्काएर सहर त तताइन्छ तर गाउँकी गरिब नारीले त्यसबारे पत्तै पाउँदिनन् । 

नारी श्रमको कुनै मूल्य छैन । जबसम्म श्रमको सम्मान हुँदैन, तबसम्म अधिकारको नारा फगत नारामै सीमित हुनेछ । यो यथार्थ नारीले भन्दा पुरुषले बढी मनन् गर्नुपर्छ । नारीले पनि आफूलाई शास्त्रीय रूपमा प्राप्त प्रतिष्ठा र सम्मान प्राप्तिका लागि सोहीअनुसार अघि बढ्नुपर्छ । विदेशीले घोकाइदिएको नाराले नारी अधिकार स्थापित हुँदैन । हाम्रा परम्परागत मूल्य–मान्यता नै अधिकार स्थापनाका लागि पर्याप्त छन् । यसका लागि खाँचो छ– मात्र सही सोच र विचारको ।

समानता र सम्मान सबैभन्दा महìवपूर्ण पक्ष हो । जुन समाजमा एकले अर्कोलाई सम्मान गर्ने परिपाटी बसेको छ त्यहाँ विभेद हुँदैन, त्यो घर सुखी हुन्छ । नारीलाई घरको बिनातलबको नोकर वा विलासको स्रोत मात्र ठान्ने पश्चिमा आयातित प्रवृत्ति त्याग्ने हो र नारी आफू स्वयंको पनि जननी हुन् भन्ने तथ्य बुझ्ने र वैदिक शास्त्रले स्थापित गरेको र धार्मिक–सांस्कृतिक रूपमा अभ्यास भइरहेको मातृशक्तिको महिमाको यथामती बोध गर्ने हो भने विश्वमा नारी अधिकारको नारा भट्याउनेहरूका लागि नेपाली अभ्यास स्थापित गर्दै विश्वभरका नारीका लागि नयाँ ऊर्जा प्राप्त हुनेछ । 

आज विश्वमा नारी समानता र अधिकार स्थापनाका लागि निर्धारित गरिएको लक्ष्य हाम्रो संस्कार र संस्कृतिमै स्थापित छ । यसको अभ्यास पूजाकोठामा मात्र सीमित भयो । शास्त्रको पूजा गर्नेहरूले मातृशक्तिको महिमा र स्थापित गरेका मान्यताको यथोचित कार्यान्वयन हुन सके समानताको नयाँ अभ्यास स्थापित हुनेछ । यसमा स्वयं नारी वर्गले आफूलाई चिन्न सक्नुपर्छ । नारी समग्रमा मातृशक्ति हुन् भन्नुको तात्पर्य नै ममता, सहनशीलता र धैर्यको पर्यायका लागि हो । त्यसकारण नारीको योगदानको यथोचित सम्मान र कदर हुनैपर्छ । यसका लागि नारी पनि जागरुक हुनुपर्छ ।

शास्त्रमा नारीमाथि कुनै प्रकारको भेदभाव, शोषण र दमन गर्नु हुँदैन भनिएको छ । कानुनले पनि त्यही भन्छ । समावेशी, समानुपातिक प्रतिनिधित्व नेपालको संविधानले गरेको छ । नेपालमा नारी अधिकार र नारी सुरक्षाका विषय निकै चुनौतीपूर्ण बन्दै गएको छ । समाज जति शिक्षित र सभ्य बन्दै गयो भनिए पनि नेपाली नारी सुरक्षित हुन सकिरहेका छैनन् । घरभित्रैबाट नारी पीडित भइरहेकी छन् ।

नारी हुन् वा पुरुष, शासक हुन् वा रैति अनि धार्मिक गुरु हुन् वा सामाजिक अभियन्ता सबैले आफ्नो मौलिकताको अध्ययन गर्नैपर्छ । शास्त्र, परम्परा र अभ्यासले नेपाली संस्कृतिमा नारीको के भूमिका थियो र नेपाली समाजले नारीलाई कसरी हेरेको छ भन्ने विश्लेषण गर्नु आवश्यक छ । अहिलेको समस्या भनेको नेपाली संस्कार र अभ्यास विपरीतको व्यवहार नै हो । पूजाकोठामा देवीको आराधना गर्ने तर भान्छामा पुगेर श्रीमतीको चुल्ठो समात्ने प्रवृत्ति नै सबभन्दा घातक हो । 

नारीमा श्रम गर्ने अपार क्षमता छ, धैर्य, सहनशीलता र ज्ञानको भण्डार छ । उनीहरूले कुनै किताबै नपढी अनेक सीप र ज्ञान आर्जन गरेका हुन्छन्, यस्तो गुण पुरुषमा कमै मात्र हुन्छ । नारीका यी गुणको सम्मान गर्दै समाज विकासमा अग्रसर गराउने उनीहरूको आत्मसम्मान रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्छ । यो कुनै लिङ्गविशेषको अधिकारको कुरा मात्र होइन, नेपाली संस्कार, संस्कृति, अभ्यास र परम्पराको निरन्तरता पनि हो । हाम्रो समाजमा नारीलाई दिइएको स्थान र महìवको पुनर्जागरणको प्रश्न हो ।

यसर्थ सामाजिक–धार्मिक अभ्यास र शास्त्रमा लिपिबद्ध भएको तथ्यले नारीलाई उच्च सम्मान, स्थान र महìव दिएको छ । हाम्रो शास्त्रीय अभ्यासले नारीलाई दिएको त्यो उच्च सम्मानको खिल्ली उडाउँदै हिन्दु संस्कारले नारीमाथि विभेद ग¥यो भन्दै सांस्कृतिक रूपमा मुलुकलाई छिन्नभिन्न पार्ने र अर्को विभेद सिर्जना गर्ने प्रयास भइरहेको छ । यसमा स्वयं नारी वर्गको दोष कम छैन । उनीहरू अष्टमातृकाको पूजा गर्ने, सरस्वती, लक्ष्मी र महाकालीको आराधना गर्ने तर आफूलाई विभेदको सिकार बनाइराख्ने प्रवृत्ति व्यापक छ । यसको अन्त्यका लागि चेतना प्रमुख विषय हो । त्यस्तो चेतना आयातित नारा सडकमा घन्काएर मात्र हुँदैन, शास्त्रीय मान्यता, अभ्यास र परम्परालाई पनि जागृत गराउनुपर्छ । 

लेखक शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।