• ११ मंसिर २०८१, मङ्गलबार

गिरिजाबाबुको सम्बोधन र गणेशमानको अर्ती

blog

४९  दिनको जनआन्दोलनपछि २०४६ साल चैत २६ गते राति राजा वीरेन्द्रले देशवासीका नाममा सन्देश दिँदै दलमाथिको प्रतिबन्ध हटाएको खुलासा गर्नुभयो । राजाको घोषणाअनुसार देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो । प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली कांग्रेस, मालेलगायतका राजनीतिक पार्टीका शीर्षस्थ नेताले आन्दोलन फिर्ता लिए । राजधानीलगायत देशभरका कारागारमा बन्दी बनाइएका सबै राजबन्दीलाई रिहा गरियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलन आफैँमा विशिष्ट राजनीतिक मुद्दा बोकेको प्रजातन्त्र प्राप्तिको लडाइँ थियो । तत्कालीन वाम घटकले गणेशमान सिंहको नेतृत्व स्वीकार गरी नेपाली कांग्रेसको चारतारे झन्डामुनि रहेर आन्दोलन गरेका थिए । यदि कांग्रेस कम्युनिस्टले बेग्लाबेग्लै क्रान्ति गरेको भए ३० वर्षे पञ्चायती व्यवस्थाको जग भत्कँदैनथियो । एकता नै बल हो भन्ने सन्देश पनि दिएको मान्न सकिन्छ ०४६ सालको राजनीतिक क्रान्तिले । 

प्रजातन्त्र दिवस फागुन ७ गतेको साइत पारी गणेशमान सिंहको निवास काठमाडौँको चाक्सीबारीमा भारतका समाजवादी नेता चन्द्रशेखरले मन्तव्य राखेपछि आन्दोलनलाई धेरै बल पुग्यो । चन्द्रशेखरको ऊर्जाशील भाषणले पञ्चायती व्यवस्थालाई धक्का पु¥याएको थियो । समाजवादी नेता बीपीलाई सम्झँदै “देश सानो भएर केही हुन्न, बीपीको मुलुक हो नेपाल, भगवान् पशुपतिनाथको मुलुक पनि हो, भारतको असल छिमेकी मुलुकमा हामी लोकतन्त्रको बिहानी हेर्न चाहन्छौं” भनेर चन्द्रशेखरले बोलेका विचार बीबीसी रेडियोले हुबहु प्रसारण गरेको थियो । यस मन्तव्यले विश्वको ध्यान नेपालको राजनीतितिर खिचेको थियो । गणेशमान सिंहले पञ्यायती व्यवस्था फाल्ने घोषणा गर्नु भएको थियो । 

सर्वमान्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, शेख इद्रिस, भीमबहादुर तामाङ, जगन्नाथ आचार्यलगायत नेताको अगुवाइमा त्यसबेलाका नेविसङ्घ र अखिलका तरुण तन्नेरीहरूले आन्दोलन सफल गर्न राजधानीका हरेक गल्ली, चोक र शैक्षिक संस्थाहरू कब्जा गरेका थिए । राजधानीलगायत विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, पोखरा आदिमा कफ्र्यु जारी गरे पनि आन्दोलनकारीले ज्यानको प्रवाह नगरी सडकमा पञ्चायत विरोधी नारा लगाउँथे । शीर्षस्थ नेताहरू घरघरमै नजरबन्दमा थिए । त्यसबेलाका युवानेता रामचन्द्र पौडेल, शैलजा आचार्य, डा. शेखर कोइराला, प्रदीप गिरी, विमलेन्द्र निधि, वाम नेता सहाना प्रधान, झलनाथ खनाल, सीपी मैनाली, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, प्रदीप ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा आदिलाई कारागार चलान गरिसकिएको थियो । शेरबहादुर देउवालाई जनआन्दोलनमा पश्चिमा मुलुकको नैतिक समर्थन जुटाउन र देशको वास्तविक राजनीतिका बारेमा जानकारी गराउन गिरिजाबाबुले विशेष राजनीतिक दूतका रूपमा बेलायत पठाउनुभएको थियो । बेलायतमा बसेर देउवाले नेपालको प्रत्येक दिनको राजनीतिक गतिविधि बुझेर ती मुलुकका राजनीतिक दल र पत्रकारमाझ सूचना प्रवाह गरिराख्नु भएको थियो । यसले नेपालको राजनीतिप्रतिको चासो अझ बढेर गएको थियो । 

अहिलेको जस्तो खुला समाज त्यसबेला थिएन । सरकारी सञ्चारमाध्यमले जनआन्दोलनको विषयलाई खासै दिन सकेका थिएनन् । सञ्चारको नाममा केही निजी क्षेत्रका पत्रिका प्रकाशित हुन्थे । अहिलेको जस्तो हातहातमा मोबाइल र फोनको व्यवस्था थिएन । राजधानीमा न्युरोड पीपलबोट बहुदलवादीहरूको सूचनाको केन्द्र थियो । गोप्य रूपमा प्रचार गरी एक कान दुई कान हुँदै सम्बन्धित ठाउँमा जम्मा भएर आन्दोलन हुने गरेको थियो । सबै उमेर समूहका जनताको सहभागिता भएका कारण जनआन्दोलन सफल भएको थियो । 

जनक्रान्ति सफल भएपछि चैत २७ गते टुँडिखेल खुलामञ्चमा विशाल आमसभा आयोजना गरियो । राजधानीका सडकहरू अबिरले रङ्गिए । देशभरि नै सिन्दूर जात्रा गरियो । खुलामञ्चमा विजय जुलुसलाई सम्बोधन गर्दै गिरिजाबाबुले “यो जित सबै नेपालीको जित हो, पञ्चहरूको पनि जित हो” भन्ने विचार व्यक्त गरेपछि लोकतन्त्रको भाषा बुझ्न नसक्नेहरूले विरोध गर्दै गिरिजा बाबुलाई थप कुरा बोल्न दिएनन् । ढुङ्गामुढा बर्साउन थाले, स्थिति तनावपूर्ण भयो । अबिर र मालाले सिँगारिएका सर्वाेच्च कमान्डर गणेशमानले गर्जेर बोल्दै सबैलाई शान्त रहन सुझाव दिनुभयो । अब राजनीतिक क्रान्ति सफल भयो, देशमा यथाशीघ्र चुनाव सम्पन्न गर्नु छ । आर्थिक क्रान्ति गर्नु छ, युवाजन शक्ति त्यतातिर ध्यान दिनुहोस् भन्ने अर्ती दिनुभयो । वामनेता मनमोहन अधिकारीले गणेशमान सिंहले बोलेका कुरामा केन्द्रित रही उहाँको राजनीतिक योगदानको खुलेरै प्रशंसा गर्नुभयो । 

यो ऐतिहासिक सभामा गिरिजाबाबुले सम्बोधन गरेका कुरालाई किन दर्शकले पचाउन सक्दैनन्, आफँैमा अनुत्तरित प्रश्न हो यो । वि.सं. २०६२÷०६३ को दोस्रो ऐतिहासिक जनक्रान्ति सफल भएपछि ०६३ साल वैशाख १४ गतेको संयुक्त राजनीतिक दलले आयोजना गरेको विजयी जुलुसमा पनि सोही कुरा दोहोरियो । सुशील कोइरालाले गिरिजाबाबुको तर्फबाट सम्बोधन गर्न लाग्दा उपस्थित हजारौँले बोल्न नदिएर पानीका बोतल, सिसाहरू मञ्चतिर फ्याके । एक समूह मञ्चतिर उक्लियो । स्थिति साँच्चिकै तनावपूर्ण रह्यो । स्थितिलाई साम्य पार्ने कुनै उपाय थिएन । त्यही बेला माधवकुमार नेपाल, अर्जुननरसिंह केसी र कार्यक्रम सञ्चालक योगेश भट्टराईले पङ्क्तिकारलाई “झ्याम्म झ्याम्म” गीत गाउन अघि सारे । जनआन्दोलन ०६२÷०६३ को मुखडा हो झ्याम्म झ्याम्म देउडागीत । डोकोले मुख छोप्दै लोकतन्त्रको सोही गीत गाउँदा त हजारौँ उपस्थित जनसमुदायले पनि रमाउँदै झ्याम्म झ्याम्म गाउँदै गए । माहोल बिस्तारै साम्य हुँदै गयो । 

नेपाली राजनीतिका शीर्ष पुरुष समाजवादी नेता बीपीले वि.सं. २०३६ जेठ २५ गते टुँडिखेल खुलामञ्चबाट देशवासीका नाममा सम्बोधन गर्नुभएको थियो । सो ऐतिहासिक सम्बोधन सुन्न भनी राजधानीलगायत देशका धेरै ठाउँबाट पनि हजारौँ मानिस भेला भएका थिए । वि.सं. २०३८ पुस १६ गते पनि बीपीले टुँडिखेल खुलामञ्चबाट सम्बोधन गरेको याद छ । वि.सं. २०३७ वैशाख २० गते सम्पन्न जनमन सङ्ग्रहपछिको ऐतिहासिक सम्बोधन थियो– बीपीको । त्यसबेला उहाँले भन्नुभएको थियो –“राष्ट्रियता कुनै माटो होइन, जनताको सामूहिक भावना हो । 

१० वर्षे जनयुद्धको समाप्तिसँगै शान्तिमार्गमा अवतरण गर्ने क्रममा तत्कालीन विद्रोही माओवादीले पनि ०६३ साल जेठ महिनामा विशाल आमसभाको आयोजना गरेको थियो । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन सुन्न सबैथरी नागरिक हजारौँको सङ्ख्यामा भेला भएका थिए । अव्यवस्थित र अस्तव्यस्त खुलामञ्चमा सबै राजनीतिक पार्टी र हरेक व्यवसायका व्यक्ति, समूहले सभा समारोह गर्ने गर्छन् । कसैका लागि अभिशाप र कसैका लागि वरदान साबित भइरहेछ टुँडिखेल । ०४६ साल चैत २७ गते र ०६३ साल वैशाख १४ गते प्रजातन्त्र र लोकतन्त्रको खुसीयाली बाड्ने दिन हुन् । गिरिजाबाबु र सुशील कोइरालाले टुँडिखेलमा बोलेका विचार प्रजातन्त्रका लागि मार्ग निर्देशन हुन् । त्यसबेलाका हामी युवा अहिले प्रौढ अवस्थामा छौँ । कतिपय राजनीतिकर्मीले राज्यबाट प्रशस्तै फाइदा उठाए यदाकदा बदनामी पनि भए । कुनै व्यक्ति त दर्जनौँ पटकसम्म मन्त्री पनि भए । अहिले समय धेरै अघि बढिसकेको छ । हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । यो अवस्थामा आउने जग पनि २०४६ सालको ऐतिहासिक जनआन्दोलन हो । यस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अपरिहार्य छ । 

लेखक राजनीतिकर्मी हुनुहुन्छ ।